काठमाडौँ पुस १४ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधान, लोकतन्त्र र लोकतान्त्रिक प्रणालीविरुद्ध भएको क्रुर प्रहारविरुद्ध आफूहरुले आन्दोलन गर्नु परेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री केपी ओलीले संविधान र गणतन्त्रमाथि प्रहार गरेको बताएका हुन् ।
उनले ओली प्रवृत्ति बेलैमा बुझ्न नसकेको भन्दै क्षमा याचना गरेका छन् । प्रधानमन्त्री केपी ओली निरंकुश तानाशाह भएको बताउँदै दाहालले ओलीले देशलाई भड्खालोमा पार्न चाहेको प्रमाणित भएको बताए ।
उनले कम्युनिस्ट मूल्यमान्यता, विधि, विधानविपरीत कदम चालेको भन्दै केपी ओली विचारमा पनि स्खलित भइसकेको टिप्पणी गरे । दाहालले केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध अहिले नै सडकमा आउनु पर्ला भन्ने नसोचेको बताएका छन् ।
अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओली प्रतिक्रान्तिको गोटी बनेको आरोप लगाएका छन् । साथै अध्यक्ष दाहालले ओली बैशाखपछि प्रधानमन्त्री नरहने दाबी गर्दै नेपाली राजनीतिक इतिहासबाट पत्तासाथ हने ठोकुवा गरेका छन् ।
दाहालले पार्टीको वैधानिकता र झन्डाको विषयमा घामजस्तै छर्लंग रहेको भन्दै अदालत र निर्वाचन आयोगप्रति आफूहरुको आस र भरोषा रहेको बताए ।





