१७ पुष, काठमडौं । पुष महिनाको १७ सम्म आईपुग्दा मुलुकैभरी धेरैनि चिसो महशुस हुन थालेको छ । यस्तै बिहिबार शुन्यमा झरेको काठमाडौंको आज बिहानको तापक्रम भने १.२ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार यो वर्षकै कम ०.८ डिग्रीमा झरेको काठमाडौंको शुक्रबार बिहानको तापक्रम थोरै बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार बिहान पौने ८ बजेसम्ममा यो तापक्रम थोरै घट्न सक्नेछ । तर भोलिदेखि देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली हुने भएकाले एकदुई दिन न्यूनतम तापक्रम नघट्ने छ ।
शुक्रबार रातिदेखि सक्रिय हुन लागेको पश्चिमी वायुको प्रभावले शनिबार सुदूरपश्चिमको उच्चा हिमाली भेगमा हिमपात र लुम्बिनी प्रदेशमा पानी पर्नै संभावना छ । यस्तै आइतबार पहाडी भेगको थोरै ठाउँमा पानी पर्नेछ । यसले देशभर चिसो बढ्ने पूर्वानुमान महाशाखाले गरेको छ ।
मध्य हिउँदको अवधि अझै बाँकी रहेकाले चिसो अझै बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अधिकारीको ठहर छ ।
हिउँदे वर्षा अझै नभएका र वर्षासँगै उच्च भेगमा हुने हिमपातको प्रभावले स्वाभाविक रूपमा देशैभर चिसो बढ्ने महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताएका छन् । अहिले पश्चिमी वायु बलियो नभएकाले तत्काल हिउँदे वर्षाको सम्भावना नरहेको सापकोटाले बताए ।
भू–मध्य सागरको वायु अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु कस्मिर हुँदै मुलुकको सुदूरपश्चिमी भेगबाट प्रवेश गर्छ । सोही प्रभावले नेपालसहित छिमेकी मुलुकमा हिमपात र हिउँदे वर्षा हुने गर्छ । सो प्रभाव अहिले कमजोर भएकाले हिउँदे वर्षाको असर नदेखिएको मौैसमविद् बताउँछन् । यसअअघि मंसिर महिनामा जाडोले कठ्याँग्रीएर कयौंको ज्यान पनि गईसकेको छ ।





