१७ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत भए निर्वाचनबाट आउन दाहाल– नेपाल समुहलाई चुनौती दिएका छन् । अहिले बहुमतमा रहेको भनेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले आफूहरूसँग बहुमत छ भनिरहेको अवस्थामा त्यसका लागि निर्वाचनमा आउन आग्रह गरेका हुन।
आफू निकट प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुमत,अल्पमतको टुंगो अहिले नभई चुनावपछि हुने भन्दै त्यो देखाउनका निम्ति सक्रिय हुन आग्रह गरेका छन् । साथै ओलीले आफू निर्वाचनबाट अध्यक्ष भएको र सर्वसम्मत दलको नेता भएकाले बहुमत आफूसँगै भएको कुरा दोहो¥याएका छन् ।
साथै प्रधानमन्त्री केपी शर्मा ओलीले चल्नै नसक्ने र अराजक भएकाले संसद् विघटन गरेको बताएका छन् । उनले सभामुख र सांसदहरू अनुशासनहीन भएको तथा सर्वसम्मत आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटनको कदम चाल्नुपरेको दाबी गरेका छन् । ओलीले आफ्नै पार्टीका सांसदहरू अनुशासनहीन भएको र सभामुखले पनि पदीय मर्यादाअनुसार काम नगरेकाले ’ताजा जनादेशको दबाई’ खोजेको बताए ।
संसद्मा सरकारका निर्णय सभामुखले रोकेर राखेको भन्दै ओलीले असन्तुष्टि पोखेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेको भन्दै आक्रोश पोखेका छन् । सभामुख र सांसदहरू अराजक भएको भन्दै त्यसको विकल्प ताजा जनादेश भएको ओलीको भनाइ थियो । पार्टीभित्र अस्थिरतातर्फ लैजाने काम भएकाले आफूले कदम चालेको ओलीको भनाइ थियो ।
प्रदेशहरूमा पनि अस्थिरता ल्याउन दाहाल र नेपाल पक्ष लागिरहेको ओलीको भनाइ थियो । उनले प्रदेशहरूमा अविश्वासको प्रस्तावहरू गइरहेको भन्दै त्यसले अशान्ति सिर्जना गर्ने बताए । दाहाल र नेपाल पक्षले गणतन्त्र र संघीयता ठीक होइन भन्नेहरूलाई बढावा दिइरहेको भनाइ ओलीको थियो । आफ्नो र राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा दाहाल पक्ष लागेर राजतन्त्र सही हो भन्नेहरूलाई ठाउँ पुगिरहेको ओलीको भनाइ थियो ।
ओलीले संसद् पुनःस्थापना नहुने भन्दै सबैलाई निर्वाचनमा आउन आग्रह गरे । उनले आफू आधिकारिक नेकपा भएको भन्दै सूर्य चिह्न आफूले पाउनेमा ढुक्क रहन कार्यकर्ताहरूलाई आश्वस्त पारे ।





