२५ पुष, काठमाडौं । संसद बिघटन बिरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ३ सय ३० निर्वाचन क्षेत्रमा बृहत आन्दोलन गर्दै छ ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको असंबैधानीक संसद बिघटनका बिरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको कांग्रेसले आज देशैभरी बिरोध प्रदर्शन गर्ने भएको हो । पुष १९ गते पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकले आज ३ सय ३० स्थानीय तहमा बिरोध गर्ने निर्णय गरेको थियो ।
यस्तै विरोधका कार्यक्रम अन्तर्गत नै माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते देशहरुका सबै ६ हजार ७४३ वटै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ । पुस १३ गते पनि उसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।
यद्यपी कांग्रेसको अर्को केन्द्रीय समिति बैठक भने माघ ६ गते बस्ने भएको छ । ओलीले गरेको संसद बिघटनका बिरुद्ध यतिबेला अन्य प्रतिपक्षी दल र नेकपाको दाहाल-नेपाल समूहले पनि विरोधमा कार्यक्रमहरु गरिरहेको छ भने ओली समूहले प्रतिवाद गर्दै आइरहेको छ । सर्बाेच्चमा संसद बिघटनको मुद्धा बिचाराधिन रहेका बेला प्रधानमन्त्री ओलीले भने संसद पुर्नस्थापना कुनै पनि हालतमा नहुने र आगामी बैशाखमा निर्वाचन भएरै छोड्ने दाबी गरेका छन् ।
यस्तै आज विरोध कार्यक्रमका लागि सम्बोधन गर्न काँग्रेस नेताहरु विभिन्न ठाउँ पुग्दैछन । सभापति शेरबहादुर देउवाले भने बुढानीलकण्ठमै सम्बोधन गर्ने भएका छन् भने उनले काठमाडौं क्षेत्र ५ अन्तर्गित प्रदेश सभा ख को कार्यक्रममा सम्बोधन गर्नेछन् ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल क्षेत्र ७ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र ख मा सहभागी हुँदैछन् । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदर्शनीमार्गमा सम्बोधन गर्दैछन् । यो काठमाडौं ६ को प्रदेश ‘क’ मा पर्दछ ।
नेता प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ का ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा सम्बोधन गर्नछन् भने गगन थापाले क्षेत्र ४ को दुबै प्रदेश निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।





