२५ असार, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको आत्मदाह प्रयासको घटनाबारे काठमाडौं महानगरपालिका महानगर प्रहरी बलले आफ्नो धारणा सार्वजनिक गरेको छ। महानगर प्रहरीले सडकमा पार्किङ गरिएको मोटरसाइकलमा गरिएको ह्वील लक नियमित कारबाही भएको र घटनाको कारण आफूहरू नरहेको दाबी गरेको छ।
मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका थिए। त्यसअघि सडक छेउमा राखिएको उनको मोटरसाइकलमा महानगर प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले ह्वील लक गरेको थियो।
घटनापछि कतिपयले ह्वील लककै कारण नेपालीले यस्तो कदम उठाएको हुनसक्ने बताएका थिए। तर महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले आफूहरूले नियमित जिम्मेवारीअनुसार काम गरेको बताएका छन्।
उनका अनुसार बिहान करिब साढे ११ बजे मोटरसाइकलमा ह्वील लक गरिएको थियो। पार्किङ गर्न नमिल्ने स्थानमा सवारी राखिएको र चालक सम्पर्कमा नआएपछि कानुनअनुसार कारबाही गरिएको उनको भनाइ छ।
जोशीले ह्वील लक गरेपछि पनि मोटरसाइकल करिब दुई घण्टासम्म त्यहीँ रहेको र बग्गीखाना लैजानका लागि टोली आउने क्रममा नेपालीले आत्मदाह प्रयास गरेको बताए।
‘हामीले दिनहुँ सयौं सवारीमा यही प्रक्रिया अपनाइरहेका हुन्छौं। यो घटनाप्रति हामी दुःखी छौं, तर यसको कारक महानगर प्रहरी होइन,’ उनले भने।
उनले घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक रहेको भन्दै महानगर प्रहरीको नियमित कामलाई घटनासँग जोड्न नहुने बताए।
यसैबीच, आत्मदाह प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको छ र स्वास्थ्य अवस्था गम्भीर रहेको छ।





