ब्रेकिङ न्युज

खोटाङदेखि मुम्बई स्टक एक्स्चेन्जसम्म : नेपाली उद्यमीको कम्पनीले रच्यो नयाँ इतिहास

२५ असार, काठमाडौं । नेपाली उद्यमी दीपजंग थापा सहसंस्थापक रहेको भारतीय साइबर सुरक्षा कम्पनी क्रतिकल टेक लिमिटेड भारतीय सेयर बजारमा सूचीकृत भएको छ । यो भारतको पूँजी बजारमा सूचीकृत हुने नेपाली संस्थापक रहेको पहिलो कम्पनी बनेको छ ।

खोटाङका स्थायी बासिन्दा थापा क्रतिकल टेकका सहसंस्थापक तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) हुन् । कम्पनीको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मुम्बई स्टक एक्स्चेन्ज (बीएसई) को एसएमई प्लेटफर्ममा सूचीकृत भएको हो ।

आईपीओमा लगानीकर्ताको उत्साहजनक प्रतिक्रिया देखिएको थियो । कम्पनीको सेयरका लागि मागभन्दा २०५ गुणाभन्दा बढी आवेदन परेको थियो । नोएडास्थित एआईमा आधारित साइबर सुरक्षा कम्पनीको आईपीओ असार १६ गते खुलेर १८ गते बन्द भएको थियो ।

सन् २०१३ मा मोतीलाल नेहरु राष्ट्रिय प्रविधि संस्थान (एमएनएनआईटी) अलाहावादमा बीटेक अध्ययन गर्दै गर्दा दीपजंग थापा, पवन कुमार र परतोष कुमारले क्रतिकल टेक स्थापना गरेका थिए । इन्जिनियरिङ अध्ययन पूरा गरेपछि केही समय थापा पेटीएममा प्रडक्ट म्यानेजरका रूपमा काम गरे । तर सन् २०१७ मा कम्पनीमा पहिलो चरणको लगानी जुटेपछि उनी पूर्णरूपमा आफ्नै उद्यममा केन्द्रित भए ।

कम्पनी स्थापनाको कथा पनि प्रविधिसँग जोडिएको छ । सहसंस्थापकमध्ये एक जनाको कलेजको साझा कम्प्युटरबाट इमेल ह्याक भएपछि साइबर सुरक्षाको आवश्यकता महसुस गर्दै तीन साथीले यो यात्रा सुरु गरेका थिए ।

हाल क्रतिकल टेकले एआईमा आधारित साइबर सुरक्षा समाधान, सफ्टवेयर–एज–ए–सर्भिस (सास) प्लेटफर्म, सुरक्षा परामर्श तथा नियामकीय कम्प्लायन्स सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीका ग्राहक भारतसँगै मध्यपूर्वका बैंकिङ तथा वित्तीय संस्था, फिनटेक, टेलिकम, आईटी, स्वास्थ्य, औषधि, ई–कमर्स र उत्पादन क्षेत्रसम्म फैलिएका छन् ।

करिब नौ वर्षअघि चार जना एन्जल लगानीकर्ताबाट प्रारम्भिक लगानी जुटाएको कम्पनीको मूल्यांकन अहिले करिब ३ अर्ब २३ करोड नेपाली रुपैयाँ बराबर पुगेको कम्पनीले जनाएको छ ।

आईपीओबाट प्राप्त रकम अमेरिका, मध्यपूर्वलगायत अन्तर्राष्ट्रिय बजारमा विस्तार, नयाँ प्रविधि विकास र साइबर सुरक्षा समाधानलाई अझ बलियो बनाउन प्रयोग गरिने थापाले बताएका छन् ।

आईपीओ सफल भएपछि थापाले खोटाङको गाउँबाट सुरु भएको यात्रा बीएसईसम्म पुग्नु आफ्ना लागि सपनाजस्तै भएको प्रतिक्रिया दिएका छन् । लगानीकर्ताको विश्वासले कम्पनीलाई विश्वव्यापी विस्तारको लक्ष्यतर्फ अघि बढ्न थप ऊर्जा दिएको उनको भनाइ छ ।

नेपालमा समेत आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा क्रतिकल टेकले काठमाडौंस्थित प्रविधि कम्पनी ग्याप टेक्नोलोजिजसँग साझेदारी गरिसकेको छ ।