समाचार

राजनीतिक अस्थिरताले राष्ट्रियता सङ्कटमाः मन्त्री थापा

२५ पुस, काभ्रेपलाञ्चोक / खानेपानीमन्त्री मणि थापाले राजनीतिक अस्थिरताले राष्ट्रियता सङ्कटमा परेको बताएका छन् । उनले नेपाल कम्यूनिष्ट पार्टी नेकपा काभ्रेपलाञ्चोकद्वारा आज बनेपामा आयोजित अगुवा कार्यकर्ता भेला एवं विस्तारित बैठकलाई सम्बोधन गर्दै हाल नेपाली राष्ट्रियता सङ्कटमा परेको बताउँदै राजनीतिक आन्दोलन सकेर समृद्धितर्फ उन्मुख देशको अभियान रोकिएकामा चिन्ता व्यक्त गरे ।
“देश समृद्धिका लागि आर्थिक क्रान्तितर्फ उन्मुख भइरहेका बेला राजनीतिक अस्थिरताले राष्ट्रियतालाई सङ्कटमा पा¥यो, निर्वाचनबाट पुनः एकपटक राजनीतिक आन्दोलन सकेर राष्ट्रियता जोगाउनुपर्छ”, नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका थापाले भने । समाजवादको नारालाई साकार पार्न एउटा कम्युनिष्ट पार्टीले नसक्ने भएपछि दुई कम्युनिष्ट एक भएको स्मरण गर्दै उनले एकै पार्टीका नेता एकले अर्कालाई खुइल्याउन चोटिलो प्रहार गर्नुपर्ने र देशलाई अस्थिरतातर्फ लैजान को–कसले भूमिका खेल्यो गम्भीरतापूर्वक खोजबिन गर्नुपर्ने आवश्यकता औँल्याए ।
मन्त्री थापाले देशले आर्थिक क्रान्ति, स्वतन्त्रता र रोजगारी खोजिरहेको बताउँदै समाजवादतिर जान चाहने शक्ति कमजोर बनाइएको आरोप लगाए । उनले भने, “शोषण, अन्याय र अत्याचारको अन्त्य भएको छैन, कुशल नेतृत्वकर्तालाई फेलिएर बनाउन खोजियो, वर्तमान अवस्थामा यो देशको लागि गम्भीर षड्यन्त्र हो ।” उनले ‘पूर्वमाओवादी’का शीर्षस्त नेताको अस्थिर राजनीतिले देश गम्भीर मोडमा पुगेको आरोप लगाए ।
कार्यक्रममा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो समय नेकपाको केही नेताको राष्ट्रियता र सामाजवादभन्दा ‘पद’का निम्तिको कसरतले जनताको सपना चकनाचुर पारेको आरोप लगाए । “पद चाहिनेलाई तीन महिनापछिको महाधिवेशन र संसदीय निर्वाचन कुर्नुस्भन्दा पनि मान्नु भएन, त्यही भएर टीके पदमा रमाउँदै हुनुहुन्छ, कतिञ्जेल हो हामी पनि हेरौँला”, उनले भने ।
प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले अदालतको ‘विचाराधीन मुद्दामा वक्तव्य दिन मिल्दैन’ भन्ने पूर्वन्यायाधीशले हालैको वक्तव्यको विरोध गर्दै उनीहरुलाई चुनावमा आफूहरुसँग प्रतिस्पर्धा गर्न आउन चुनौती दिए । “पूर्व भएपछि वक्तव्य दिएर कानूनको उपहास गर्दा लाज लागेन श्रीमानहरु, जे पायो त्यही बोल्ने, हिम्मत भए चुनावमा प्रतिस्पर्धा गर्न आउनुस्”, उनले थपे ।
कार्यक्रममा नेकपा वाग्मती प्रदेश कमिटी सचिव आनन्द पोखरेल, नेकपा केन्द्रीय सदस्यत्रय रामहरि सुवेदी, चन्द्र लामा र प्रकाश गौतम, वाग्मती प्रदेशसभा सदस्य गोमा भूर्तेल, नेकपा जिल्ला अध्यक्ष अशोक ब्याञ्जूलगायतले देशलाई द्वन्द्वतर्फ नधकेल्न तथा शान्तिपूर्ण तवरले जनताको भावनाको कदर गर्न आग्रह गरे । सो अवसरमा मन्त्री थापा र पूर्वमन्त्री बाँस्कोटाले नेकपामा नवप्रवेशीलाई फूलमालाले स्वागत गरेका थिए ।