ब्रेकिङ न्युज

इरानको नयाँ सैन्य रणनीतिले बढायो चासो

२१ असार, काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि कार्यक्रम तेहरानमा सुरु भएको छ। पहिलो दिनदेखि नै राजधानीका सडक र अन्तिम श्रद्धाञ्जलीस्थलमा लाखौँ मानिसको उपस्थिति देखिएको इरानी सञ्चार माध्यमहरूले जनाएका छन्।

शनिबार बिहानदेखि तेहरानस्थित इमाम खुमेनी ग्रान्ड मुसल्ला मस्जिदमा श्रद्धाञ्जली अर्पण गर्न सर्वसाधारणको ठूलो भीड लागेको छ। खामेनीसँगै फेब्रुअरी २८ को आक्रमणमा ज्यान गुमाएका उनका परिवारका सदस्यहरूको पार्थिव शरीर पनि इरानी राष्ट्रिय झन्डाले ढाकेर राखिएको थियो। अन्तिम दर्शनका क्रममा धेरै श्रद्धालु भावुक बनेका थिए।

समारोहका क्रममा सहभागीहरूले अमेरिका र इजरायलविरुद्ध चर्को नाराबाजी गर्दै बदलाको माग गरेका पोस्टर प्रदर्शन गरेका थिए। इरानी अधिकारीहरूले यो हालसम्मकै सबैभन्दा ठूलो जनसहभागिता हुन सक्ने दाबी गर्दै पूरा अन्त्येष्टि अवधिभर करिब १ करोड ५० लाखदेखि २ करोडसम्म मानिस सहभागी हुन सक्ने अनुमान गरेका छन्।

६ दिनसम्म चल्ने कार्यक्रमअन्तर्गत जुलाई ६ मा तेहरानबाट अन्तिम यात्रा सुरु हुनेछ। त्यसपछि पार्थिव शरीरलाई कोम, इराकका नजफ र कर्बला हुँदै जुलाई ९ मा मशहदस्थित इमाम रजा दरगाह परिसरमा राजकीय सम्मानका साथ समाधिस्थ गरिने कार्यक्रम तय गरिएको छ। शिया मुस्लिम समुदायका लागि यो दरगाह अत्यन्त पवित्र धार्मिकस्थल मानिन्छ।

यसबीच, इरानले अमेरिकासँग जारी अप्रत्यक्ष वार्तालाई तत्कालका लागि स्थगित गरेको छ। साथै, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) का निरीक्षकलाई फोर्डो, नतान्ज र इस्फहानस्थित प्रमुख आणविक केन्द्रहरूको निरीक्षण गर्न अनुमति नदिने निर्णय पनि गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मानवीय आधारमा अन्त्येष्टि सम्पन्न गर्न इरानलाई एक साताको समय दिएको दाबी गर्दै त्यसपछि अमेरिकी प्रस्ताव स्वीकार गर्नुपर्ने बताएका छन्।

उता, खामेनीको निधनपछि इरानको सुरक्षा र सैन्य रणनीतिमा पनि परिवर्तनको संकेत देखिएको छ। नयाँ सर्वोच्च नेता मोजतबा खामेनीको नेतृत्वमा तेहरानले थप आक्रामक सुरक्षा नीति अवलम्बन गर्न सक्ने विश्लेषण गरिएको छ।

भूराजनीतिक विश्लेषकहरूका अनुसार पछिल्ला घटनाक्रमपछि इरानले होर्मुज जलडमरूमध्यलाई आफ्नो रणनीतिक दबाबको प्रमुख माध्यमका रूपमा प्रयोग गर्ने संकेत दिएको छ। इरानको सन्देश स्पष्ट छ – यदि इरान अस्थिर बनाइयो भने विश्वव्यापी तेल आपूर्तिमा पनि त्यसको प्रत्यक्ष असर पर्नेछ।