२५ पुस, दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधानको गलत ढङ्गबाट टिकाटिप्पणी गर्ने काम भइरहेको बताएका छन्।
नेपाली कांगेस तनहुँ क्षेत्र नम्बर २ (क) ले आज शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आयोजना गरेको विरोधसभामा उनले संसद् विघटनपछि संविधानको गलत व्याख्या भइरहेको टिप्पणी गरे।
केन्द्रीय सदस्य पौडेलले नेपालको सङ्घीयता गतिशिल ढङ्गले अगाडि बढ्न नसक्नुको कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गतिविधि रहेको आरोप लगाउँदै संसद् विघटन गरेर प्रधानमन्त्रीले अस्थिरता निम्त्याएको बताए । “नेपाली कांग्रेससँग एक्लै लड्न नसकेर एमाले र माओवादीले निर्वाचनमा मोर्चा बनाएको थियो । त्यो निर्वाचन जित्नका लागि मात्र थियो”, उनले भने । कांग्रेसको नेतृत्वमा आएको संविधान रक्षा गर्न कांग्रेस तत्पर रहेको पौडेलले बताए ।
संसद् विघटनको विरोधमा नेपाली कांग्रेस तनहुँले आज चार प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम सम्पन्न गरेको छ । तनहुँ क्षेत्र नं १ (क) को भानु नगरपालिकास्थित बाइसजाँगरमा, (ख) को आँबुखैरेनीमा, तनहुँ क्षेत्र नं २ (क) को खैरेनीटारमा र (ख) को घिरिङमा विरोधसभा सम्पन्न भएको छ ।





