समाचार

वार्ताबाट समस्याको समाधान खोज्न आग्रह

११ माघ, काठमाडौँ / राष्ट्रिय मानव अधिकार आयोगले जनसरोकारसँग सम्बन्धित उचित माग राखेर अनशनरत व्यक्तिको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनशरनरत व्यक्तिको आवश्यक छलफल र सम्वाद गरी निजहरूको जीवन रक्षा गर्न आग्रह गरिएको छ । आयोगले आफ्ना माग पूरा गराउन आमरण अनशन जस्तो अप्रिय कदम नचाल्न अनशनरत पक्षलाई आग्रह गरेको छ ।
स्वास्थ्य तथा शिक्षा निःशुल्क हुनुपर्नेलगायत ५२ बुँदे माग राखी गत पुस ३ गतेदेखि काठमाडौँमा धर्नामा रहेका नेपाल कम्युनिष्ट पार्टी जनवादीका महासचिव डीएस महता, भरत धनाडी, ललन सिंह र किशोर सिंहलगायत व्यक्तिलाई प्रहरीले पटकपटक पक्राउ गरेको तथा निजहरू आमरण अनशनमा रही स्वास्थ्य अवस्था गम्भीर रहेको सम्बन्धमा आयोगको वाग्मती प्रदेश कार्यालयले अनुगमन गरेको छ ।
अनुगमनको क्रममा निजलाई धर्ना तथा अनशनमा रहेको बखत पटकपटक पक्राउ गरी छोड्ने गरिएको तथा निजहरूको स्वास्थ्यमा समस्या देखिएपश्चात् चावहिलस्थित एक अस्पतालमा भर्ना गरिएको पाइएको छ । भरत धनाडी र ललन सिंह अस्पतालमा अझै अनशनमा नै रहेको तथा निजहरूको स्वास्थ्य अवस्था जटिल बन्दै गएको आयोगले जनाएको छ ।