पु.समाचार

भागरथि हत्यामा संलग्न भएको अभियोगमा युवक पक्राउः भन्छन्,‘बदला लिन यस्तो गरेँ

५ फागुन, काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । घटनाको १३ औँ दिनमा पक्राउ परेका ती व्यक्तिलाई आजै सार्वजनिक गरिने तयारी गरिएको छ ।

पक्राउ परेका व्यक्ति भागरथी पढ्ने विद्यालय सनातन धर्म माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका कक्षा ११ मा अध्यनरत दिनेश भट्टले घटनामा संलग्नता स्वीकार गर्दै साबिती बयान दिएको भन्दै बैतडी प्रहरी स्रोतले भन्यो, ‘बदला लिन यस्तो गरेँ भनेका छन् ।’

प्रहरीको प्रारम्भीक अनुसन्धान तथा वयानमा पक्राउ परेका युवकले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा राखिएका उनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव माघ २२ गते खोचलेक-चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो ।

वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो । यस्तै घटनामा संलग्न भएको आशंकामा कञ्चनपुरका एक सरकारी कर्मचारी पक्राउ परेका थिए । तर घटनामा आफ्नो संलग्नता नरहेको भन्दै डिएनए परिक्षण गर्न भनेका थिए ।