२२ फागुन, खोटाङ / हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारकी २३ वर्षीया सविता थापाले क्यान्सरको उपचारका लागि सहयोगको याचना गरेका छन् ।
शिक्षण अस्पताल काठमाडौँले निधारमा भएको क्यान्सरको उपचारका लागि कम्तीमा १० लाख खर्च लाग्ने बताएपछि सविताले सहयोगको याचना गरेका हुन् ।
करिब सात महिनाअघि क्यान्सर पहिचान भएको पीडित सविताको हाल शिक्षण अस्पताल काठमाडौँमै उपचार भइरहेको छ । क्यान्सर निदानका लागि सवितालाई किमो दिने तयारी भइरहेको पीडित सविताका आफन्त सन्तोष राईले बताए ।
गत भदौमा निधारभन्दा केहीमाथि निस्किएको फोका बढ्दै गएपछि परीक्षणका क्रममा सवितालाई क्यान्सर भएको पुष्टि भएको थियो । निधारमाथि निस्किएको मासुको फोका क्रमशः बढ्न थालेपछि उनी गत मङ्सिरमा १४ हजार ऋण काढेर उपचारका लागि काठमाडौँ पुगेका थिए ।
काठमाडौँमै रहेकी दिदीसँग अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराउन पुगेकी सवितालाई शल्यक्रिया गर्न तीन लाख खर्च लाग्ने बताएपछि खर्च जम्मा गर्न नसक्ने भन्दै कोठा फर्किएका थिए । क्यान्सर भएको पुष्टि भएपछि सविता गत फागुन ११ गतेदेखि शिक्षण अस्पतालमै बसिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका सविताको उपचारका क्रममा हालसम्म डेढ लाखभन्दा बढी खर्च भइसकेको छ ।
घरमा छ वर्षकी छोरी र चार वर्षका छोरालाई छाडेर उपचारका लागि काठमाडौँ गएकी सवितालाई क्यान्सरको उपचारसँगै आफ्ना छोराछोरीको लालनपालनको निकै चिन्ता लागेको छ ।
“ऋण खोजेर उपचारका लागि काठमाडौँ पुगेको र अहिलेसम्म उपचारका लागि डेढ लाख ऋण लिइसक्यो”, उनले भने, “उपचार गर्दा १० लाख खर्च लाग्छ भनेको छ । अब मेरो जीवन या मरण शुभेच्छुकको साथ र सहयोगमा निर्भर छ । आफूले मरिन्थ्यो छोराछोरीको बिजोग हुनेभयो ।”
क्यान्सर पीडित सविताको उपचारका लागि रकम जुटाउन आफन्तले सहयोग अभियान थालेका छन् । क्यान्सरको उपचारका क्रममा लाग्ने खर्च आफै जुटाउन सक्ने अवस्था नभएकाले आफन्तले ‘सविता थापा उपचार सहयोग अभियान’ थालेका हुन् ।





