राजनीति

माओवादी केन्द्रबाट सरकारमा गएका गृहमन्त्री सहितलाई प्रचण्डले बोलाए फिर्ता

२९ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका बादल सहितका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ ।

केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्त्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकले हिजो एमालेले माओवादी केन्द्रका २३ जना नेतालाई केन्द्रीय सदस्य बनाएका नेताहरुले पार्टी परित्याग गरेको हो अथवा होइन २४ घण्टाभित्र लिखित जानकारी गराउन निर्देशन दिने निर्णय गरेको छ । बैठकले चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला स्थागित गरेको छ ।

माओवादीका गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।