बाग्मती

उपभोक्ता सचेतना अभियान सम्पन्न

३ चैत, भक्तपुर / बजारमा अवैध, म्याद गुज्रेका खाद्यपदार्थ अस्थिर मूल्यमा बिक्री गरेको पाइएपछि यसलाई नियन्त्रण गर्न सूर्यविनायक नगरपालिकाले आफ्नो नगरभित्रका व्यापारी र उपभोक्ताका लागि सचेतना अभियान सम्पन्न आज गरेको छ ।
नगरपालिका वडा नं १ देखि वडा नं १० सम्मका उपभोक्ता तथा व्यापारीलाई एकै ठाउँमा राखेर दुई चरणमा सञ्चालन गरेको अभियानमा बजारमा उपभोक्ताले अपनाउनु पर्ने सावधानी र व्यापारीले गर्न हुने र नहुने विषयमा छलफल भएको थियो । नगरपालिकाले पटकपटक गरेको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका, ढुसी आएका, कुहिएका खाद्यपदार्थसमेत बिक्री गरेको, मूल्यसूची नटासिएको, औषधिमा समेत मिति सकिएका औषधिबिक्री गरेको, मासु पसलमा झिङ्गा भन्किएका, बासी सडेका मासु बिक्री गरिएको, खाजा एवं मिठाई पसलमा अखाद्य वस्तुको मिसावट भएको पाइएपछि नगरपालिकाको उपभोक्ता सचेतना अभियान शुरु गरेको नगरपालिकाको उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक जुना बस्नेतले बताए ।
कार्यक्रममा उनले गुणस्तरीय वस्तु र सेवाको उपभोगमा उपभोक्ता आफैँ पनि सचेत हुनुपर्ने बताउँदै कुनै पनि सामान खरिद गर्दा त्यसको गुणस्तर हेर्ने, मूल्य ठीक छ कि छैन हेर्ने र मिति गुज्रेको छ कि छैन हेरेर मात्रै सामान खरिद गर्ने बानी उपभोक्ताले बसाले बजारको अनियमितता धेरै हदसम्म घट्ने उनको भनाइ छ ।
बजार अनुगमनमा व्यापारीले पटकपटक अटेर गर्ने र उपभोक्तालाई ठगी गर्ने गरेको पाइएको बताउँदै उनले नगरपालिकाले नसियत मात्रै दिन पाउने तर कारवाही गर्ने अधिकार स्थानीय तहलाई नहुँदा व्यापारीले अटेर गर्ने गरेको बताए । स्थानीय तहलाई बजार अनुगमनसँगै गलत गर्नेलाई कारवाही गर्ने अधिकार दिए सहज हुने बताउँदै उनले चाँडै धनी हुने लोभमा व्यापारीले उपभोक्ताको स्वाथ्यमाथि खेलबाड गर्न नहुने बताए ।
उपप्रमुख बस्नेतले उपभोक्ताका गुनासालाई सम्बोधन गर्न नगरपालिका हरदम तयार रहेको बताउँदै उत्पादित वस्तु उपभोग गर्दा उत्पादन मिति, उपभोग्य मिति र मूल्य आदि हेरेर गुणस्तरीय वस्तुको उपभोगमा सबै सचेत एवं विवेकशील हुनुपर्ने बताए । उनले नगरपालिकालाई नै व्यवसाय दर्ताको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत यज्ञराज जोशीले उपभोक्ताको हक सुनिश्चित गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभाग, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले बजार अनुगमन र उपभोक्ता सचेतना अभियान सञ्चालन गर्दै आए पनि प्रभावकारी हुन नसकेको बताए ।
घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले वाग्मती प्रदेशको उपभोक्ता संरक्षण तथा उद्योग तथा वाणिज्य दर्ता प्रक्रियामाथि प्रकाश पार्दै बजारले उपभोक्तालाई सम्मान गर्नुपर्नेमा जोड दिए । उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले व्यवसायीले कर्मचारीको तलब कटाएर १५ देखि २५ प्रतिशत मात्र नाफा कमाउनुपर्ने नियम रहे पनि रातारात धनी बन्ने व्यवसायीको सोचले उपभोक्तामैत्री बजार सञ्चालन हुन नसकेको बताए ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले उपभोक्ता जागरण र स्वच्छ बजार सञ्चालनका लागि पत्रकारले उपभोक्तालाई सचेत तथा सरकार, सरोकारवाला र व्यवसायीलाई जिम्मेवार बनाउन खबरदारी गर्दै आएको बताए । नगरपालिकाका बजार अनुगमन शाखाका सदस्य सचिव एवं शाखा अधिकृत सुरज पौडेलले उपभोक्ता सचेतना र बजार अनुगमनलाई प्राथमिकतामा राखेर नगरपालिकाले कार्य गर्दै आएको बताए । उनले उपभोक्ता र व्यवसायी आफैँ सचेत नभएसम्म बजार नसुध्रने बताउँदै बजारलाई सबै प्रकारबाट सुधार गर्न सचेतना अभियान सञ्चालन गरेको बताए ।
पौडेलले व्यवसाय दर्ता, कर कार्यालय, नगरपालिका, घरेलुसम्ममा कर तिर्नपर्ने दर्ता गर्नुपर्ने झन्झट रहेकाले यसमा एकरुपता ल्याउने व्यवस्था गर्न व्यवसायीको सुझाव आएको बताए । नगरपालिकाले बजारमा सचेतना फैलाउन ब्रसर र पर्चा वितरण गरिएको बताए ।