बाग्मती

लागुऔषध विरुद्धको सचेतना कार्यक्रम

३ चैत, चितवन / नेपाल प्रहरीको वाग्मती प्रदेशको आयोजनामा आज यहाँ लागुऔषधविरुद्ध सचेतनामूलक नाटक एवं साङ्गीतिक धुन प्रस्तुत गरिएको छ । तालीम प्राप्त नेपाल प्रहरीको एक टोलीले लागुऔषध प्रयोगबाट सिङ्गो परिवार र समाजमा हुने प्रभावलाई नाटकका माध्यमबाट प्रस्तुत गरेको थियो ।
वाग्मती प्रदेश कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मीरा चौधरीले यहाँबाट शुरु भएको सडक नाटक प्रदेशअन्तर्गतका अन्य नौ जिल्लामा पनि प्रस्तुत गरिने जानकारी दिए । समुदायमा तत्काल प्रभाव पार्न सक्ने भएकाले सडक नाटक गरिएको उनको भनाइ थियो । सामुदायिक प्रहरीमार्फत समाजमा लागुऔषध नियन्त्रणमा काम भइरहेको चौधरीले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जिल्लामा लागुऔषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम भइरहेको बताए । समुदायसँग मिलेर काम गरिएको भन्दै उनले लागुऔषधलाई व्यापारको रुपमा प्रयोग गर्नेलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको जानकारी दिए ।
सडक नाटकबारे प्रदेश प्रहरी कार्यालयका प्रहरी निरिक्षक अच्यूत गिरीले यस नाटकबाट लागुऔषध प्रयोगबाट भविष्य अन्योल भएको, प्रयोगकर्तालाई प्रहरीले निगरानीमा राखेको, प्रयोग गरेमा कानूनी कारवाही हुन्छ भन्ने सन्देश दिएको बताए । यससँगै सार्वजनिकस्थल र यातायातमा लैङ्गिक हिंसा गर्नेलाई प्रहरीले निगरानी गरिरहेको पनि सन्देश दिइएको उनले जानकारी दिए ।
साङ्गीतिक धुनले तनाव न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो । गिरीका अनुसार नेपालमा छ लाख लागुऔषध प्रयोगकर्ता रहेका छन् । बर्सेनि यो सङ्ख्या ३० हजारले थपिने गरेको भन्दै उनले नौ हजारभन्दा बढीको मृत्यु हुने गरेको बताए । जसमध्ये १२ प्रतिशत महिला छन् । प्रयोगकर्तामध्ये दुई लाख ५० हजारलाई तत्काल उपचार आवश्यक भए पनि नेपालमा चार हजार क्षमताको पुनःस्थापना केन्द्र मात्र रहेको उनको भनाइ थियो ।