पु.समाचार

आज कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकः महत्वपुर्ण निर्णय हुने संकेत

२० चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल हुनेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसले आगामी भदौ ७ गते १४औँ महाधिवेशनको मिति तोके पनि काम अघि बढ्न सकेको छैन । सबै जिल्लाको विवरण अध्यावधिक गर्ने काम समेत अहिलेसम्म सम्पन्न भएको छैन ।

यस्तै‚ कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने र विपक्षमा रहेका दलहरुसँग गठबन्धन गरेर सरकार निर्माण गर्ने विषयमा आफ्नो ठोस धारणा तय गर्न सकेको छैन ।

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले कांग्रेसको निर्णय पर्खिरहेको अवस्थामा यस विषयमा पनि ठोस निर्णय गर्नुपर्ने दबाबमा कांग्रेस रहेको छ ।