राजनीति

काँग्रेसको सरकारसँग मागः बिरामीलाई अक्सिजन /बेडको तत्काल व्यवस्था गर

२५ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका सह–महामन्त्री एवं नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समिति संयोजक डा प्रकाशशरण महतले अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न, कृतिम अभाव सृजना गर्नेहरुलाई तत्काल कार्वाही गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न सरकारसँग माग गरेका छन् ।
डा महतले भनेका छन्, ‘कोभिड–१९ का विरामीहरु अस्पताल बेड नपाएर उपचारबाट वञ्चित भएका समाचारहरु काठमाडौं उपत्यका लगायत देशभरिबाट आइरहेका छन् । अर्कोतिर काठमाडौं उपत्यकाका धेरै अस्पतालहरुमा अक्सिजनको गम्भीर अभाव हुन थालेको छ । यसले गर्दा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का विरामीहरुले अक्सिजन नपाउने अवस्था सृजना भएको छ । यस्तो समस्या देशका अन्य भागहरुबाट पनि आउन थालेका छन् । काठमाडौं उपत्यकाका कतिपय अस्पतालहरुले अक्सिजनको अभावका कारण अक्सिजन चाहिने कोभिड–१९ का विरामीहरुलाई उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेका छन् ।’
उनले भनेका छन्, ‘सरकार भने कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील छैन । सरकार संक्रमितहरुको आवश्यकता अनुसार न अस्पतालहरुको थप व्यवस्था गर्न सकिरहेको छ, न अक्सिजनको समुचित आपूर्ति । नेपाली कांग्रेस आवश्यकता अनुसार सरकारसँग देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालहरुको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न माग गर्दछ ।’