राजनीति

जनस्वास्थसँग खेलवाड गर्ने कमिशनखोरलाई तत्काल कारवाही गरि खोपको सहज आपूर्ति गर्न राप्रपाको माग

२५ बैसाख, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापा, पशुपति शम्सेर राणा र डा प्रकाशचन्द्र लोहनीले जनस्वास्थसँग खेलवाड गर्ने कमिशनखोरलाई तत्काल छानबिन र कारवाही गरि खोपको सहज आपूर्ति गर्न माग गरेका छन् ।
अध्यक्षत्रयले संयुक्त बिज्ञप्ती निकाल्दै भनेका छन्, ‘नेपाल यतिखेर कोभिड–१९ को दोश्रो लहरबाट नराम्रोसंग जुधिरहेको छ । समयमा उपचार नपाउँदा अनाहकमा केही नेपालीले ज्यान समेत गुमाउनु परेको छ । हस्पिटलमा बेडको अभाव, अक्सिजन आपूर्तिमा समस्या, आइसियु र भेन्टिलेटरको कमी, औषधिमा कालोबजारी भइरहेकाले संक्रमित भएकाहरुको पनि उपचारमा समस्या पैदा भएको छ । भारतको सिरम इन्स्टिच्यूटसँग खरिद भएको र खरिद गर्ने भनिएको कोभिशिल्ड खोप कमिशन चलखेलका कारण आयात रोकिएको खवरले नेपाली जनमानस स्तब्ध, आश्चर्यचकित र आक्रोशित भएको छ । संकटको यो समयलाई पनि नाफा आर्जनको मौकाको रुपमा लिइनु अमानवीय र व्यबसायिक धर्म विपरीतको कार्य हो । जनस्वास्थसँग खेलवाड गर्ने कमिशनखोरलाई तत्काल छानबिन र कारवाही गरि खोपको सहज आपूर्ति गर्न राप्रपा माग गर्दछ । विद्यमान कोभिड संकटको नियन्त्रण र रोकथाममा सम्पूर्ण सामथ्र्य लगाई नेपाली जनजीवनलाई थप नोक्सान हुनबाट जोगाउन सरकारको थप तदारुकताको खाँचो छ ।’
अध्यक्षत्रयले सरकारसँग आग्रह गर्दै भनेका छन्, ‘देश नै अप्ठेरोमा परेको बेला हेलिकप्टर कम्पनीहरुले भाडामा व्यापक बृद्धि गरिनु, अत्यावश्यक औषधि, अक्सिजन लगायतका वस्तुको कालाबजारी हुनु अकल्पनीय र नेपालीको मौलिक चरित्र विपरीतका गतिविधि हुन् । यस्ता कार्यको प्रभावकारी अनुगमन गरि दोषीमाथि कारवाही गर्न राप्रपा सरकारसँग आग्रह गर्दछ । राप्रपा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउन पुगेकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । साथै संक्रमित भइ उपचाररतहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’
उनीहहरुले अपील गरेका छन्, ‘संक्रमण हुनबाट जोगिन भौतिक दुरी कायम, मास्कको अनिवार्य प्रयोग जस्ता स्वास्थ्य मापदण्ड पालना गर्न राप्रपा आम जनसमुदायमा हार्दिक अपील गर्दछ । विपदको यो समयमा जनताको सेवामा पूर्ण रुपले समर्पित हुन पार्टीका सबै तहका नेता कार्यकर्तालाई आह्वान गर्दछौं ।’