काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य पृथ्वीबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गरेका छन् । ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्वसभापति कार्कीको काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा आज बिहान ७८ वर्षका उमेरमा निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले आफूलाई मर्माहत र दुखित बनाएको उल्लेख जनाउँदै उहाँप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । सभापति देउवाले कार्कीले पार्टी संगठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने जनाएको छ ।
विसं १९९९ पुस १४ गते जन्मनुभएका कार्की २०१८ सालदेखि कांग्रेसको राजनीतिमा संलग्न रहँदै आएको थियो । पार्टी प्रतिबन्धितकालमा उहाँ कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कोषाध्यक्षसमेत थिए । नेपालमा लोकतन्त्र प्राप्तिको आन्दोलनका क्रममा कार्कीले पटकपटक कारागार जीवन बिताउनुभएको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज नेतृत्वलाई गुमाएको जनाएको छ ।





