धनगढी । ‘छोरी बिग्रे नर्स छोरा बिग्रे कमर्स’ भनी हेला गरेर बोल्ने हाम्रो नेपाली समाजमा महामारीका समयमा भने दृष्टिकोण बदलिएको छ । छोरीलाई निकै भेद्भावपूर्ण व्यवहार गरिने नेपाली समाजमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दृष्टिकोण बदलिएको हो । महामारीको समयमा दिनरात निद्रा, थकान, भोक, तिर्खा त्यागेर स्टाफ नर्सका रूपमा आफ्नो जिन्दगी जोखिममा राख्दै सेवा गरिरहेका छोरीहरुलाई महामारीमा देवीका रूपमा चित्रण गर्न थालिएको छ समाजमा यति बेला ।
समाजमा हेलाको पात्र बनेर बसेका छोरीहरूले महामारीका रूपमा फैलिएको कोरोना कहरमा आफ्नो जीवन बिरामीका लागि समर्पित गरेर नेपाली समाजको हेराइलाई परिवर्तन गरिदिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी बताउछन् । यो समयमा आफ्नै जिन्दगी जोखिममा राखेर बिरामीलाई दिनरात, भोक प्यास केही नभनी सेवा तथा उपचारमा खटिनुभएका स्टाफ नर्स छोरीहरूलाई महामारीमा देवीको रूपमा आफूले पाएको अवस्थी बताउछन् । “महामारीमा सबै आफ्नो ज्यान बचाउन लाग्छन् तर नर्स नानीहरू अस्पतालकै ग्यालरीमा सुतेर भए पनि बिरामीको सेवामा लाग्नुहुन्छ, त्यसैले त उहाँहरू बिरामी र हाम्रो समाजका लागि अहिलेको समयमा सञ्जीवनी बुटी साबित हुनुभएको छ”, अवस्थीले भने ।
निर्देशक अवस्थी न्यून पारिश्रमिक, कामको चाप, सेवा सुविधाको अभावबीच पनि नर्सहरू दिनरात बिरामीको सेवामा कटिबद्ध भएर लागेको देख्दा अस्पतालमा देवी माता आफैँ आएर उपचार गरिरको झैँ लाग्ने गरेको बताउछन् । लामो समयदेखि पटकपटक नर्सहरूको दुःख, पीडा र अवस्थाबारे बहस तथा छलफल हुने गरेको भए पनि अवस्थामा कुनै सुधार आउन नसक्दा भने दुःख लाग्ने गरेको उनको भनाइ छ ।
महामारीमा दिनरात बिरामीको सेवा गर्न पाउँदा आनन्द महसुस हुने गरेको कैलालीको सेती प्रादेशिक अस्पतालले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा खटिइरहनुभएकी स्टाफ नर्स शुष्मा विक बताउछिन् । “हाम्रा धेरै गुनासा छन् तर महामारीको समयमा गुनासाहरूलाई थाँती राखेर सेवामा खटिनु हाम्रो धर्म हो”, उनले भनिन् , “छोरी भनेपछि हेला गर्ने हाम्रो समाजमा छोरी भएर जन्म लिएर यसरी सबैको सेवा गर्ने मौका सबैले कहाँ पाउँछन् र ? मैले पाएकी छु, आफूलाई भाग्यमानी ठान्दछु ।”
महामारी फैलिएदेखि नै परिवारका सदस्यबाट बिदा लिन बारम्बार गरिएको आग्रहलाई समेत नमानीकन बिरामीको सेवामा खटिनुभएकी अर्की स्टाफ नर्स एलिसा मगर यस्तो समयमा छुट्टी लिन आफ्नो आत्माले नदिएका कारण अस्पतालमै खटिएको बताउछिन् । “हाम्रो त सरकारी अस्पतालमा हो ठिकै छ तर निजी अस्पतालमा कार्यरत साथीहरूको कामअनुसारको तलब सुविधा खै ?”, उनी भन्छिन , “नेताले जस्तो माग नगरीकन काममा लाग्नुभएको छ, अनि आफूहरू किन नलाग्ने ?”





