९ जेठ, कैलाली । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले धनगढीको सेती प्रादेशिक अस्पताललाई आज अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेकी छन् । नेतृ डा देउवाले प्रादेशिक अस्पताललाई दुई थान अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराएको अस्पतालले जनाएको छ । सो अक्सिजन कन्सेन्ट्रेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले आजै बुझेका हुन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ को उम्मेदवार समेत हुनु भएकी नेतृ देउवाले यसअघि अक्सिजन प्लान्ट स्थापनाका लागि धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा १० लाख आर्थिक सहयोग गरेको उमहानगरपालिकाले जनाएको छ ।
यस्तै अक्सिजन प्लान्ट स्थापनाका लागि उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा निर्माण व्यवसायी सङ्घ कैलालीले सहयोग गरेको छ । नगरप्रमुख नृपबहादुर वडलाई आज निर्माण व्यवसायी सङ्घ कैलाली परिवारले चार लाख २१ हजार सहयोगको चेक हस्तान्तरण गरेको छ । सो कोषमा सङ्गम सहकारी वचत तथा ऋण सहकारी संस्थाले पनि रु ७५ हजार सहयोग गरेको छ ।
कैलालीमा थप पाँच कोरोना सङ्क्रमितको मृत्यु
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप पाँच कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ का ६५ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष, कैलारी गाउँपालिका–९ का ४५ वर्षीय पुरुष गोदावरी नगरपालिका–१ का ५५ वर्षीय पुरुष र गोदावरी नगरपालिका–५ का ४७ वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।





