१० जेठ, काठमाडौं । नेकपा एमालेको आज बसेको स्थायी समिति बैठकले बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ जना नेतालाई साधारण सदस्यबाट निलम्बन गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई साधारण सदस्यबाट निलबन गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतमा देउवालाई प्रधानमन्त्री बनाउने फिरादपत्रमा हस्ताक्षर गर्ने माधव समूहका नेताहरुलाई एमालेले स्पष्टीकरण सोधेपनि उनीहरुले कुनै उत्तर दिएनन् । बाँकी १२ जनालाई भने २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
आज सर्बोच्च अदालतमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोम पाण्डे,कृष्णलाल महर्जन,झपट रावल,निरादेवी जैरू,सरला यादव,कल्याणी खड्का,लक्ष्मी चौधरी,माधव कु।नेपाल,भीम रावल,कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण, भवानी खापुङ, यज्ञराज सुनुवार, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडाले सर्बोच्च अदालतमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा हस्ताक्षर गरेका थिए ।





