ललितपुर । ललितपुर महानगरपालिका–२६ सुनाकोठी र वडा नं ४ बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ । कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी महानगरपालिकाका यी दुई स्थानमा निःशुल्क सुविधा दिइएको हो ।
ललितपुरमा बस्ने आर्थिक अवस्था कमजोर भएका तथा संयुक्त परिवारमा रहँदा बिरामीका लागि छुट्टै कोठा अनि शौचालयको प्रयोग गर्न सम्भव नभएका मानिसलाई दृष्टिगत गरी सुनाकोठीस्थित पोषण पुनस्र्थापना गृह र बागडोलस्थित ज्यापू समाजको भवनमा विना शुल्क आइसोलेशनको सुविधा दिइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।
उहाँले भन्नुभयो, “मुलुकमा हाल कोरोनाको सङ्क्रमण दर घट्दै गएकाले मात्रै यी दुई ठाउँमा कोभिडका बिरामी राख्ने व्यवस्था गरेका छौँ, यदि बिरामी दर बढ्दै गएमा पाटनढोकास्थित पाटन माविमा समेत आइसोलेशनको व्यवस्था गर्ने सोच अघि बढाइसकेका छौँ ।” उक्त गृहमा ५० र समाजमा ११० गरी कूल १६० क्षमताको आइसोलेशन कक्षबाट बिरामीलाई निःशुल्क सुविधा दिइरहेको महर्जनले जन्ताए ।
गृहमा आज मात्रै ३५ जनाले उपचार सेवा लिइरहेका नेपाल युथ फाउण्डेशनका कार्यकारी निर्देशक राजु धमलाले बताए । उनले भने, “यहाँ चार हाई डिपेनडेन्सी युनिट (एचडियु) को व्यवस्था गर्नाका साथै अक्सिजनसहित दुई मेडिकल अफिसर तहका चिकित्सका साथमा आवश्यक स्वास्थ्यकर्मीले सेवा गरिरहनुभएको छ, हिजोसम्म करीब ११० ले उपचार सेवा लिएर गइसके ।”





