समाचार

सुविधावापतको रकमबाट कर्मचारीलाई पुरस्कार

परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को एक स्थानीय तहका प्रमुखले आफूले पाउँदै आएको सुविधावापतको रकमबाट कर्मचारीलाई पुरस्कृत गरेका छन् । जिल्लाको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले आफूले पाउँदै आएको सुविधावापतको रकम मध्ये ५० हजार ५०० बाट गाउँपालिकामै कार्यरत एक कर्मचारीलाई पुरस्कृत गरेका हुन् ।

पुरस्कृत हुनेमा गाउँपालिकामा विगत तीन वर्षदेखि विपद् व्यवस्थापन शाखामा सम्पर्क व्यक्तिका रूपमा कार्यरत प्रदीपकुमार तिवारी गरेका छन् । गाउँपालिका अध्यक्ष गुप्ताले आज उनलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै तिवारीको कार्यसम्पादनबाट प्रभावित भएर आफूले व्यक्तिगतरूपमा पुरस्कृत गरेको बताए ।

सार्वजनिक विदामा तथा जुनसुकै समयमा पनि सेवामा निरन्तर खटिएर कार्यसम्पादन गरेकाले थप प्रोत्साहनका लागि पुरस्कृत गरेको अध्यक्ष गुप्ताले बताए । अधिकांश समय कार्यक्षेत्रमै खटिएर जस्तोसुकै परिस्थितिमा पनि गाउँपालिका र जनताको सेवालाई पहिलो प्राथमिकता दिएर कार्यसम्पादन गरेकाले उक्त कार्यको उच्च मूल्याङ्कन गरेको उनले बताए ।