राजनीति

काँग्रेस १४ औं अधिवेशन ९ दिन सर्यो, भदौ १६–१९ मा कन्फर्म होला त ?

३० जेठ, काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति नौ दिन पछि सर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको शनिबारको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।
उक्त निर्णय काँग्रेस केन्द्रीय कार्यसमितिको आगामी असार ३ गते बस्ने बैठकले पारित गर्ने उनले बताए । काँग्रेसले यसअघि केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको थियो । सोहीअनुसार क्रियाशील सदस्यतासम्बन्धी कार्य टुङ्ग्याउने र अन्य तहका अधिवेशन गर्ने मिति तोकिएको थियो ।
महामारीको विषम परिस्थितिका कारण यसअघिको निर्धारित महाधिवेशन कार्यतालिका प्रभावित भएको भन्दै काँग्रेसले नयाँ कार्यतालिका निर्धारण गर्नुपरेको जनाएको छ । काँग्रेसले ९ दिन सारेको अवस्थालाई हेर्दा बिभिन्न बिकल्पहरुसमेत देखिएकाले नेपाली काँग्रेसको १४ औं अधिवेशन निश्चित रुपमा हुने दाबी काँग्रेस नेतृत्वको छ । कोरोना संक्रमणको माहामारीका कारण माहाधिवेशन गर्न समस्या भएपनि नेताहरुले बिभिन्न बिकल्पहरुमाथी छलफल गरिरहेका छन् ।