साहित्य

दाहाल यज्ञनिधिको स्मृतिः दृष्टिविहीन कार्कीलाई सम्मान

२५ साउन, काठमाडौं । साहित्यकार एवं रेडियो प्रस्तोता दिवङ्गत दाहाल यज्ञनिधिको तेस्रो स्मृतिसभाका अवसरमा आज साहित्य र शिक्षा सेवामा सक्रिय सावित्री कार्कीलाई सम्मानित गरिएको छ ।
दाहाल यज्ञनिधि स्मृतिसभाद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ समालोचक निनु चापागाईंले कार्कीलाई रु २५ हजार राशिको सो सम्मान प्रदान गरेका हुन् । दुवै आँखा गुमाएकी भक्तपुर निवासी कार्कीले ब्रेललिपिका माध्यमबाट अध्ययन गर्दै त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर उपाधि प्राप्त हुन् ।
दाहाल पत्नी सुधा दाहाल संरक्षक रहनुभएको सो संस्थाले समाजमा पछि पारिएका र सङ्घर्षपूर्ण जीवनका माध्यमबाट सामाजिक रुपान्तरणका लागि योगदान दिने व्यक्तिलाई सम्मानको परम्परा आरम्भ गरेको हो । सभामा साहित्यकार चापागाईंले साहित्यकार दाहाल एक निष्ठाको उचाइ प्राप्त व्यक्तित्व भएको र उहाँले दिनुभएको सांस्कृतिक रुपान्तरणयुक्त योगदानको चर्चा गरे । साहित्यकारहरु हरिहर खनाल, रमेश शुभेच्छु, निलम कार्मी ‘निहारिका’, प्रकाश सिलवाल लगायतले दाहालले साहित्य र सञ्चार क्षेत्रमा खेलेको उत्प्रेरणामूलक भूमिकाको स्मरण गरेका थिए ।
खोटाङको धारापानीमा विसं २०१० साउन ८ मा जन्मिएका मिर्गौला पीडित दाहालको २०७५ साल साउन २५ मा निधन भएको थियो । पञ्चायतकालदेखि रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रमबाट लोकप्रिय उनको विसं २०५७ फागुन १० मा मिर्गौला प्रत्यारोपण गरिएको थियो । दरबार हाई स्कुलका पूर्वशिक्षक, नागार्जुन साहित्यिक प्रतिष्ठानका पूर्वाध्यक्ष उनका गीत, निबन्ध, कविता, समालोचना आदि विधामा पुस्तक तथा रचना प्रकाशित छन् ।