राजनीति

डा संग्रौलाको प्रश्नः खोपको सहज व्यवस्थापनका लागि सरकारले के गरिरहेको छ ?

२८ साउन, काठमाडौं । नेपाली काँग्रेसकी साँसद डा डिला संग्रौलाले खोपको सहज व्यवस्थापनका लागि सरकारले के गरिरहेको छ? भनेर प्रश्न गरेकी छन् ।
उनले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै, ‘अघिल्लो लहरमा जस्तै आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि, जनतालाई अक्सिजन र फेरि पनि बेडको कमी नहोस् भन्नका लागि सरकारका योजनाहरू के के छन् ?’ भन्दै बिशेषगरी स्वास्थ्य राजयमन्त्री उमेश श्रेष्ठलाई प्रश्न गरेकी हुन् ।
उनले आक्रोशित हुँदै अब देशमा महामारीको स्थिति के हुने हो त्यसको विश्लेषण के छ? भनेकी छन् ।
सभामुखमार्फत डा संग्रौलाले भनेकी छन्, ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आफ्नै पालामा करोडौं खोप ल्याइदिएको भनेर यही संसदमा दाबी गर्नुभयो। खोपको अवस्था के छ? प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले भनेजस्तै सरकारको नीति नै ‘खोप, खोप र खोप’ भन्ने छ। अहिले पनि लाखौं डोज खोप लगाउन सकिएको छैन। खोप लगाउन जनता बिहानैदेखि भीडभाडमा उभिनु परिरहेको छ। खोपको सहज व्यवस्थापनका लागि सरकारले के गरिरहेको छ?’