पु.समाचार

राप्रपा अध्यक्ष थापाको कृति: ‘कर्णेल छत्रबहादुर थापा एकपटकको सैनिक जीवनभरको सैनिक’

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको कृति ‘कर्णेल छत्रबहादुर थापा एक पटकको सैनिक जीवनभरको सैनिक’ लोकार्पण गरिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवका असरमा आज यहाँ आयोजित समारोहमा उक्त कृतिको विमोचन गरेका हुन् । आफ्नो जीवनयात्राको आदर्श र प्रेरणदायी व्यक्तित्व पिता छत्रको स्मरणमा थापाले प्रकाशित गर्नुभएको उक्त पुस्तकमा तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गरिएको छ ।

कर्णेल थापाको विश्वयुद्धमा सहभागिता, राणा प्रधानमन्त्री मोहन शम्शेर र राजा महेन्द्रसँगको सामिप्य तथा पञ्चायतकालका अनुभव समेटिएको उक्त पुस्तक एक सैनिकको सङ्घर्षपूर्ण आरोह–अवरोहको कथाकारुपमा रहेको छ ।

सो अवसरमा प्रधानसेनापति थापाले एक अनुशासित एवं मर्यादित सैनिक व्यक्तिको जीवनशैली, आचरण तथा समाज र राष्ट्रपतिको योगदानलाई उजागर गर्न प्रकाशन गरिएको पुस्तकले राष्ट्रसेवको सामाजिक जीवन र दायित्वलाई पनि चित्रण गरेको बताए ।

पुस्तकका स्रष्टा पूर्वउपप्रधानमन्त्री थापाले समकालीन नेपालको आर्थिक, सामाजिक र राजनीतिक पक्षसहित नेपाली सेनाको गौरवमय इतिहास तथा पिता छत्रबहादुरले समाज सुधारमा पु¥याउनुभएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको जानकारी दिए ।

नेपाली सेनामा तीन दशक भन्दाबढी सेवा गर्नुभएका पुस्तका प्रमुख पात्र कर्णे छत्रबहादुरलाई तत्कालीन वडाहाकिमको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भएको थियो । नेपाल रेडक्रस सोसाइटी मकवानपुरका संस्थापक एवं हेटौँडा नगरपञ्चालयका उपप्रमुखसमेत रहेका थापालको विसं २०३६ साउन २८ गते निधन भएको थियो ।

स्मृति ट्रष्टका अध्यक्ष एवं पूर्वरथी नेत्रबहादुर थापाले पिता छत्रबहादुरले अनुशासन परिधिमा रही कीर्तिमानी काम गर्न दिनुभएको प्रेरणाले सबै परिवारजनलाई अनुशासित र परिश्रमका लागि घचघच्याइरहको अनुभावका घटना सुनाए ।

सो अवसरमा गभर्नर, राजदूत र मन्त्रीकोसमेत जिम्मेवारी सम्हाल्नुभएका परराष्ट्र मामिलाका जानकार डा भेषबहादुर थापालाई सम्मान गरियो । कार्यक्रममा ट्रष्टकातर्फबाट नेपाल रेडक्रस मकवानपुरका लागि यसअघि नै घोषणा गरिएको रु ५० हजार नगद र सम्मानपत्र अध्यक्ष सूर्यचन्द्र न्यौपानेलाई हस्तान्तरण गरियो । साङ्ग्रिला पुस्तक प्राली प्रकाशक रहेको पुस्तकको मूल्य रु ३५० छ ।