राजनीति

संविधान र ब्यबस्थाको औचित्यमाथी प्रश्नचिन्ह, अब बाटो परिबर्तन गरौं: अध्यक्ष थापा

३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनितिक घटनाक्रमबाट संविधान र ब्यबस्थाको औचित्य माथी पुनः प्रश्न चिन्ह खडा भएको बताएका छन् । पात्र परिबर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकोले ब्यक्ती नभई ब्यबस्था, नेता नभई निति र चालक नभई बाटो नै परिबर्तन गर्नुपर्नेमा जोड दिदै अध्यक्ष थापाले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता बारे पुनर्बिचार हुनुपर्ने बताए।

थापाले पछिल्लो अध्यादेश प्रकरणले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनितिक अस्थिरता बढाउने काम गरेको भन्दै सरकारको पछिल्लो कदमको तिब्र आलोचना गरे। सत्तारूढ दल काङ्ग्रेस फेरि आत्मघाती र फोहरि बाटोमा हिडेको थापाको कथन थियो ।

पार्टीको स्थानीय तह निर्बाचन परिचालन समितिले नगर अध्यक्षहरुसङ्ग आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीको महाधिवेशन सङ्गै स्थानीय निकाय निर्बाचन सम्बन्धि बिशेष कार्ययोजना प्रस्तुत गरे । आगामी दिनमा क्षेत्र, नगर, वडा सङ्गै बुथ कमिटी निर्माण प्राथमिकतामा पर्नुपर्ने भन्दै थापाले प्रशिक्षण, घरदैलो, जनताको माझ राप्रपा अभियान र जनपरिचालन सघन रुपमा संचालन गर्नुपर्ने बताए।

बैठकमा स्थानीय तह निर्बाचन परिचालन समितिका पदाधिकारी सदस्य, सचिवालय प्रमुख, नगर अध्यक्षहरु, स्थानीय निर्बाचनका प्रत्याशिहरु, निर्बाचित जनप्रतिनिधिहरुको सहभागी रहेको पार्टीका सचिबालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । यस्तै बैठक विभिन्न चरणमा संचालन हुँदै जाने पार्टीले जनाएको छ ।