साहित्य

आशु कविता लेखन प्रतियोगितामा विजयीलाई पुरस्कार

२० कात्तिक, काठमाडौँ । आख्यान तथा बाल साहित्यकार रमेश विकलको ९४ औ जन्मजयन्तीको अवसरमा आशु कविता लेखन तथा वाचन प्रतियोगिताबाट छनौट भएकालाई पुरस्कार वितरण गरिएको छ ।

अभिनव साहित्य समाजले असोज ९ गते सम्पन्न गरेको माध्यमिक विद्यालय स्तरीय ‘आशु कविता लेखन प्रतियोगिता’का विजयीलाई पुरस्कार वितरण गरिएको हो । पुरस्कार प्राप्त गर्नेमा एम्विशन एकेडेमी काठमाडौँका प्रविज्ञा नेपाल, शिक्षा शिशु सदन धनगढीका विभूति अधिकारी, जी।एस। निकेतन हेटौंडाका समर्पण न्यौपाने क्रमश प्रथम, द्वितीय र तृतीय भएका थिए । सान्त्वना पुरस्कार पाउनेमा इष्ट पोल माविका दिलाशा तिवारी र सुसंस्कार मा।वि। काठमाडौंका वन्दना जयसवाल रहेका छन् ।

रमेश विकल साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले संयुक्तरूपमा विशेष कार्यक्रमको आयोजना गरी सो पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विकास आयोजनाका साथै नगरपालिकाले भाषा साहित्यको विकासमासमेत उल्लेख्य योगदान गरेको बताए । आगामी दिनमा पनि साहित्यिक क्षेत्रलाई प्रोत्साहन गरिने उनको प्रतिबद्धता छ ।

सो अवसरमा नेपाल ललित कला प्रतिष्ठानका कुलपति के के. कर्माचार्य र गोविन्दप्रसाद घिमिरे वेदमणि, रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, प्रतिष्ठानका महासचिव विजय चालिसे, अभिनवका सचिव परशुराम पराजुली, प्रतिष्ठानका उपाध्यक्ष हेमनाथ पौडेललगायतले रमेश विकलको कृतित्व र व्यक्तित्व बारे बोलेका थिए ।