राजनीति

बारलाई नेम्वाङको आस्वाशनः प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने प्रस्ताव पार्टीमा लैजान्छु

६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एशोसिएसले एमालेलाई पनि ज्ञापन पत्र बुझाएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भेटेर बारको टोलिले आज दिउँसो जबरालार्ई महाअभियोग लगाएर हटाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको हो । बारको ज्ञापनपत्र बुझ्दै नेम्वाङले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने प्रस्तावलाई पार्टीको बैठकमा राख्ने आश्वासन दिएका छन् । नेम्वाङले बारको प्रस्तावलाई पार्टी अध्यक्ष र स्थायी कमिटी बैठकमा लैजाने आश्वासन दिएका हुन् ।

विभिन्न आरोप लगाउँदै प्रधानन्यायाधीश जबराको राजीनामा मागेर बार बिगत तीन साताभन्दा लामो समयदेखि आन्दोलनमा रहेको छ । तर, जबराले राजीनामा दिन कुनै संकेत नदेखिएपछि सभामुख अग्निप्रसाद सापकोटा सहित संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई ज्ञापनपत्र बुझाएको हो । सोही क्रममा एमाले संसदीय दलका उपनेता नेम्वाङलाई ज्ञापनपत्र बुझाएर बारले जबरालाई महाअभियोग लगाउन माग गरेको हो ।

बारको आन्दोलनबारे औपचारिक जानकारी पाएको भन्दै उनले कानुन व्यवसायीको आन्दोलन मथ्थर बनाउन दंगा प्रहरी प्रयोग गरेमा दुःख व्यक्त गरेका छन् । न्यायालयको विवाद भित्रै समाधान गर्नुपर्ने भए पनि बाहिर आइसकेकाले अब समाधानको बाटोमा लाग्नुपर्ने उनको नेम्वाङको भनाइ छ ।