राजनीति

अध्यक्ष दाहालको दाबीः भोट माग्न आउँदा धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको छ

६ मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको निर्वाचनमा भोट माग्न आउँदा धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको बताएका छन् ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना भरतपुरले भरतपुर महानगरपालिका–२४ मा निर्माण गर्न लागेको केरुङ घोल लिफ्ट सिँचाइ आयोजनाको आज शिलान्यास गर्दै उनले आफ्नो क्षेत्रमा उदाहरणीय विकासका काम भएको बताए । सिँचाइको माध्यमबाट सुक्खा क्षेत्रलाई उर्वर बनाउने उल्लेख गर्दै उनले भने, “जनताको आवश्यकता परिपूर्ति हुनेगरी उत्पादकत्व बढाउने काम गर्छौँ ।” सुकुम्बासी, भूमिहीनहरुलाई लालपुर्जा वितरण गर्नेगरी काम अघि बढेको भन्दै उहाँले यो सरकारले लालपुर्जा, निस्सा वा स्थानान्तरणको काम गर्ने छ भने । उनले थपे, “लालपुर्जा वितरणका लागि भूमिसुधार मन्त्रालयमार्फत काम भइरहेको छ ।”

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, ऊर्जा, जलस्रोत तथा सिँचाई सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतको उपस्थिति थियो ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोका अनुसार खोलाको छेउमा सोलारबाट इनारको पानी तानेर लिफ्ट सिँचाइ गर्न लागिएको हो । रु आठ करोडको लागत रहेको यो आयोजनाको ठेक्का सम्झौता भइसकेको छ । चितवन राष्ट्रिय निकुञ्जसँग सहमति लिएर काम अघि बढेको उनले बताए । यसबाट २०० हेक्टर जमिन सिञ्चित हुने उनको भनाइ छ । यसबाट बाह्रै महिना भरपर्दो, दिगो र पूर्ण सिञ्चित गर्न सहयोग पुग्ने छ । दश हजार ५०० हेक्टर क्षेत्रफल सिञ्चित हुनेगरी काम अघि बढाउने लक्ष्य लिइएको उनले बताए ।