१४ मंसिर, काठमाडौं । नेकपा एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनको सौराहामा भएको १० औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज भएको मतदानमा प्रतिस्पर्धी डा.भीम रावललाई भारी मतान्तरले हराउँदै अध्यक्षमा पुनः ओली निर्वाचित भएका हुन् ।
महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनले १८०८ मत ल्याएका छन् । रावलले २१३ मत पाएका छन् । स्रोतका अनुसार गणना गरेको मतको रुजु भइरहेकोले प्राप्त मतको संख्या बढ्न सक्नेछ । सर्वसम्मत हुने ओलीको आंकाक्षामा भीम रावलले पनि उम्मेदवारीको घोषणा गरिपछि उनी महाधिवेशनमा आज भएको मतदानबाट बहुमतले विजयी भएका हुन् ।
२०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि निरन्तर अध्यक्ष नै थिए । आज विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । जहाँ २ हजार १५३ मतदातामध्ये २ हजार ९६ मत खसेको थियो ।





