राजनीति

कांग्रेस प्रदेश अधिवेशनः विभिन्न प्रदेशमा मतदान जारी, कुनैमा मध्याह्न पछि

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि विभिन्न प्रदेशमा मतदान सुरु भए पनि अझै कुनै प्रदेशमा सुरु हुन सकेको छन । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र सदस्यहरुको मनोनयन दर्ता भएका पदहरुमा आज निर्वाचन भइरहेको हो ।

लुम्बिनी प्रदेशको अधिवेशनअन्तर्गत भैरहवामा मतदान जारी छ भने, गण्डकी प्रदेशअन्तर्गत पोखरामा मतदान चलिरहेको छ । उता सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । आज विहान १० बजेपछि धनगढीस्थित निर्माण व्यवसायी महासंघ कैलालीको कार्यालयमा मतदान भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र चुनावी प्रतिस्पर्धामा छन् । बलायर र मिश्र प्यानलसहित चुनावी दौडमा छन् ।

त्यस्तै कर्णाली प्रदेशमा कार्यसमिति चयनका लागि मध्याह्न १२ बजेदेखि वीरेन्द्रनगरमामा मतदान सुरु हुने जनाईएको छ । साथै बागमती प्रदेश अधिवेशको मतदान हेटौडामा १२ बजेपछि मात्रै सुरु हुने भएको छ । प्रदेश १ को अधिवेशनमा मतदान सुरु भएको छैन । विराटनगरमा जारी अधिवेशनमा अपराह्नपछि मतदान सुरु हुने छ । उता, प्रदेश २ को अधिवेशन भने अनिश्चित नै भएको छ ।