सूचना प्रविधि

नेपाल टेलिकमको “ब्राण्ड एम्बेसडरमा” मदनकृष्ण र हरिबंश

२८ मंसिर, काठमाडौं । नेपाल टेलिकमले महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई “ब्राण्ड एम्बेसडर” नियुक्त गरेको छ । मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीको रुपमा चिनिएका कलाकारद्वय श्रेष्ठ र आचार्यलाई नेपाल टेलिकमले “ब्राण्ड एम्बेसडर” नियुक्त गरेको हो ।

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर गरेका छन् ।
कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीहरुको सहभागीता रहेको सो कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले स्वागत मन्तव्य राखेकी थिईन । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको “ब्राण्ड एम्बेसडर” नियुक्त गर्न पाउँदा गौरवान्वित महशुस गरेको बताएका हुन् ।

उनले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको पनि उल्लेख गरेका छन् । कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको “ब्राण्ड एम्बेसडर” हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताएका थिए ।