राजनीति

प्रधानमन्त्री देउवाले एमालेलाई भनेः सत्ता गठबन्धन कसैका खिलाफमा होइन

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन कोही कसैको खिलाफमा नभएको स्पष्ट पाएका छन् । “यो पाँच दलीय गठबन्धन कोही कसैको खिलाफमा होइन । यो संविधानको रक्षा र संसद्लाई पूरा कार्यकाल चल्न दिनका लागि गठन भएको हो । म त चाहन्छु यो अझै अगाडि जाओस्”, उनले भने, “उता ओलीजी (नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली) र अन्य पार्टीलाई नलागोस् कि यो गठबन्धन हाम्रा खिलाफमा हो ।”

नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संसद् आफ्नो कार्यकालभरि चलोस् भन्ने पुनित उद्देश्यले सो प्रावधान संविधानमा राखिएको स्मरण गरे । नेपालको संविधानसभाको निर्वाचन, संविधान निर्माण र शान्ति प्रक्रियामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उल्लेखनीय भूमिका रहेको बताउँदै प्रधानमन्त्री देउवाले शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई सबैको सहयोग र सहमतिमा शिघ्र निष्कर्षमा पु¥याइने विश्वास दिलाए ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कुनै पनि अर्थमा राष्ट्रघाती नभएको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले भने, “कहाँ छ एमसीसीमा राष्ट्रघात । पढ्नुप¥यो, अध्ययन गर्नुप¥यो । म राष्ट्रको खिलाफमा जाऔँला कहिल्यै ? प्रजातन्त्र र राष्ट्रका लडेको मान्छे हो म, के राष्ट्रघात काम गरुँला मैले ? राष्ट्रघाती सन्धि किन गरुँला ? त्यसकारण यसका बारेमा अध्ययन गर्नुस् । हाम्रो बीचमा छलफल हुँदैछ । एमसीसी नेपालको हितमा छ । सित्तैमा आएको पैसा हो यो । सित्तैमा आएको पैसा चाहिन्न भन्छन् !” उनले भने ।

विश्व बैंक, एशियाली विकास बैंकलगायतका बहुपक्षीय दातृ निकायबाट ऋण लिँदा अन्तर्राष्ट्रिय कानून आकर्षित हुने बताउँदै प्रधानमन्त्री देउवाले एमसीसीले नेपालको कानून मान्छु भनेकाले यो देशको खिलाफमा नभएको स्पष्ट गरे । व्यापक छलफल गरेर एससीसी सहमतिका साथ पास गराउने प्रधानमन्त्रीको भनाइ थियो ।