राजनीति

पौष २७ गते पृथ्वी जयन्तीका अवशरमा देशभर बिदा दिन प्रधानमन्त्रीसंग राप्रपाको माग

१८ पौष, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले पौष २७ गते पृथ्वी जयन्तीका दिन बिदा दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । अध्यक्ष लिंदेनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।
अध्यक्ष लिंदेनले राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको रुपमा भब्यताका साथ मनाईरहेको सर्वविदितै भएको भन्दै सरकारका तर्फबाट सम्मान स्वरुप बिदा दिनुपर्ने माग गरेका हुन् ।

ज्ञापनपत्र बुझाउँदै अध्यक्ष लिंदेनले भनेका छन्ः
मिति ः २०७८ पुस १८ गते
सम्माननिय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
सिंहदरबार, काठमाडौ ।
विषयः ज्ञापन पत्र ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको रुपमा भब्यताका साथ मनाईरहेको सर्वविदितै छ ।
नेपालीलाई नाम र पहिचान दिने राष्ट्र निर्माताको सम्मानमा राज्यका तर्फबाट कुनै कमी हुन दिनु हुँदैन भन्ने राप्रपाको अविचलित मान्यता रहि आएको छ । राष्ट्र एकिकरणका नायकलाई कुनै पनि वाद, विवाद र सिद्धान्त भन्दा माथि राखेर उहाँको जन्म जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदा कसैको आस्था र विश्वास माथि चोट पुग्दैन तसर्थ आगामी पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, उक्त दिन सार्वजनिक विदा दिन तथा नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्विर अंकित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सम्माननीय प्रधानमन्त्रीज्यू र नेपाल सरकार समक्ष जोडदार माग गर्दै यो ज्ञापनपत्र पेश गर्दछ ।
यसै सन्दर्भमा २०७४ सालमा सम्माननीय प्रधानमन्त्रीज्यूकै नेतृत्वको सरकारले सार्वजनिक विदा दिने भनि गरेको निर्णय उपयुक्त रहेको र जनस्तरले स्वागत गरेको भएतापनि त्यसले निरन्तरता पाउन नसकेको अवस्थामा सार्वजनिक विदा दिने प्रधानमन्त्रीज्यूको पूर्ववर्ति निर्णयलाई पुनः स्मरण गराउदै आगामी पौष २७ गते सार्वजनिक बिदा दिनुको साथै सरकारी स्तर बाटै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गराउन हुन राप्रपा सरकारसँग जोडदार माग गर्दछ । यदि उक्त निर्णय नगरिए राप्रपाले देशव्यापी बिरोध आयोजना गर्ने कुरा पनि यसै ज्ञापन पत्र मार्फत जानकारी गराउँदछु ।