साहित्य

चौधरीका दुई कृति लोकार्पण

२२ पौष, काठमाडौं । साहित्यकार वसन्त चौधरीका दुई कृति ‘तिमीविनाको म’ र ‘अनेक पल और मैं’ लोकार्पण भएको छ । श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा मंगलबार यहाँ आयोजना भएको कार्यक्रममा नेपाली भाषामा लेखिएको ‘तिमीविनाको म’ कविता सङ्ग्रह र हिन्दी भाषामा लेखिएको ‘अनेक पल और मैं’ कविता सङ्ग्रह प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र कवि तुल्सी दिवसले लोकार्पण गरेका हुन् ।

प्रतिष्ठानका कुलपति उप्रेतीले जीवनका अनेक भावनालाई विभिन्न भाषामा कृतिमार्फत समेट्न चौधरीको ठूलो सफलता रहेको भन्दै आगामी दिनका लागि पनि शुभकामना दिए । कवि दिवसले राम्रा कवितामा उचाइ, गहिराइ र फैलावट हुनुपर्ने र यो चौधरीको कविता सङ्ग्रह ‘मितीविनाको म’ पढेपछि प्राप्त हुने भन्दै उक्त कविता सङ्ग्रह नेपाली कविता सङ्ग्रहमध्येको एक उत्कृष्ट रहेको बताए ।

कार्यक्रममा मुम्बई विश्वविद्यालयका हिन्दी भाषा विभाग प्रमुख करूणा शङ्करले प्राकृतिक वैभवले सम्पन्न देश नेपालको प्राकृतिक सौन्दर्यबाट प्रेरणा नलिने को होला भन्दै यसको अदभूत आनन्दको स्वाद चौधरीको कृतिमा पाइने बताए । सो अवसरमा सर्जक चौधरीले आफ्नो अनेक कर्ममध्ये मनलाई शान्ति र आनन्द दिने साहित्य र सिर्जना रहेकाले जीवनको अन्तिम घडीसम्म पनि यस क्षेत्रमा कलम चलाइरहने बताए ।

सर्जक चौधरीका कृति ‘अनेक पल और में’ हिन्दी कविता सङ्ग्रहले हालै भारतमा आयोजित साहित्य सम्मेलनमा ‘बुक अफ इयर’ को उपाधि जितिसकेको छ । चौधरीका यसअघि ‘राष्ट्रियता नदुखोस’, ‘संवाद’, ‘मेरा डायरीका पानाहरु’, ‘मेघा’, ‘मेरा कविता’, ‘जीवन मन्त्र’, ‘वसन्त’, ‘आँसुओं की सियाही से’, ‘वक्त रुकता नही’ कृति प्रकाशित भइसकेका छन् ।