२० फागुन, काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को बहुप्रतिक्षित केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषय, हालै प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग सम्झौता एमसिसी, पार्टीका नेताहरुको पद विभाजन लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको सम्बन्धमा पछिल्लो पटक आफूले लिएको निर्णय देश र जनताको हितमा रहेको बताए । प्रतिमगन विरुद्धको अभियानका क्रममा गठन भएको गठबन्धनसमेत टुट्ने अवस्था आएपछि एमसिसीका सम्बन्धमा व्याख्यात्मक घोषणा गररै भए पनि सहमति जुटाइएको र देशलाई जोगाउन सफल भएको उनको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले माओवादी परिमार्जन विना एमसिसी पास गर्ने पक्षमा नभए पनि गठबन्धनलाई जोगाउनका लागि व्याख्यात्मक घोषणा गर्न सहमत भएको एवं एमाले र सो पार्टीका अध्यक्ष केपी ओलीको चाहना गठबन्धन भत्काउनेतर्फ केन्द्रित भएकाले त्यसलाई रोकिएको स्पष्ट पारे ।
एमसिसीका कारण गठबन्धनभित्र विवाद भए पनि त्यसलाई अन्तिममा मिलाइएको र गठबन्धन जोगिएको अध्यक्ष प्रचण्डको भनाइ रहेको थियो । व्याख्यात्मक घोषणासहितको एमसिसी अमेरिकाले स्वीकार गरेको दाबी गर्दै उनले कार्यान्वयनको क्रममा कुनै समस्या देखिए त्यसलाई सूचना दिएर एकतर्फी रुपमा खारेज गर्न सकिने धारणा राखे ।
“नेपालको सार्वभौमिकतालाई कमजोर पार्ने कुनै पनि व्यवस्था र प्रावधान स्वीकार्न सकिँदैन । प्राकृतिक स्रोतसाधन नेपालको बाहेक अरुको हुन सक्दैन । लेखापरीक्षण लगायतका विषय नेपालले नै गर्न पाउनुपर्छ भन्नेमा हामी सहमत छौँ”, उनले भने। माओवादी बिनै एमसिसी पारित गर्नका लागि सभामुखलाई महाभियोग लगाउने तयारी भएकाले आफूहरु व्याख्यात्मक घोषणाका लागि तयार भएको उनको भनाइ थियो ।
व्याख्यात्मक टिप्पणीबारे विज्ञहरुसँग पनि लामो छलफल गरेको स्मरण गर्दै अन्तरराष्ट्रिय सम्बन्धका जानकारले दिएको सुझावका आधारमा निष्कर्ष निकालिएको अध्यक्ष प्रचण्डको भनाइ थियो । शान्ति प्रक्रिया टुङ्गिएको अवस्था भएको भए एमसिसीका बारेमा फरक प्रकारको निर्णय लिन सकिने अवस्था आउने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई टुङ्गोमा पुग्न नदिन अझै पनि षड्यन्त्र भइरहेको बताए ।
बैठकमा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी निर्णय विपरीत गएर एमसिसी सम्झौता अनुमोदन गर्दा त्यसबाट राम्रो प्रभाव नपरेको धारणा राखे । उनले एमसिसीका सम्बन्धमा गरिएको निर्णयले पार्टीलाई क्षति पु¥याउने बताए । नेता श्रेष्ठले पार्टी कठिन मोडमा पुगेको भन्दै यस्तो बेला सोच विचारपूर्ण निर्णय गर्नुपर्ने उल्लेख गरे । बैठकमा पार्टी निर्णय विपरीत एमसिसी अनुमोदन गरिएको भन्दै केही नेताले फरक मत राखेका छन् ।
माओवादीको केन्द्रीय समितिको अर्को बैठक आगामी आइतबार बस्ने गरी स्थगित भएको छ । आइतबारसम्म थप तयारी गरेर आगामी कार्यदिशा तय गरिने माओवादी नेतृत्वले जनाएको छ ।





