समाचार

जलवायु परिवर्तनका असरप्रति सबै सचेत हुनु जरुरी छ: मन्त्री रेग्मी


२७ फागुन, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जलवायु परिवर्तनका असरप्रति समयमै सबै सचेत हुनुपर्ने बताएका छन् ।

सगरमाथाको कालापत्थरमा जलवायु परिवर्तनसम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरी शुक्रबार काठमाडौँ फर्किएको महिला समूहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार स्वागत गर्दै उनले सो कुरा बताएका हुन्।

सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असर बारे विश्वलाई सन्देश दिने काम गरेकामा समूहमा आवद्ध सबैलाई सरकारका तर्फबाट धन्यवाद दिँदै मन्त्री रेग्मीले जलवायु परिवर्तनका असरबारे विश्व समुदाय समयमै सचेत नभए ठूला विपद्को जोखिम बढ्ने बताए ।

यसमा महिला समूहले ठूलो साहसका साथै जोखिम मोलेर कार्यक्रम गरी सरोकारवाला निकायलाई सचेत हुन दिएको दबाब प्रशंसनीय रहेको उनको भनाइ थियो । मन्त्री रेग्मीले जलवायु परिवर्तनका मुद्दाप्रति सरकार गम्भिर रहेको र सरकारले जलवायुका असर नियन्त्रण गर्ने नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेको अवगत गराए ।

मार्च ८ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तरराष्ट्रिय संस्थाको सहयोगमा कालापत्थरमा विशेष कार्यक्रम गरिएको थियो ।

महिला समूहले यही फागुन २४ गते कालापत्थरमा विशेष कार्यक्रम गरी विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र समेत सार्वजनिक गरेको थियो । विभिन्न क्षेत्रका प्रतिष्ठित ४० महिलाको समूह काठमाडौँदेखि १३ दिने पदयात्रा अभियान सुरु गरी कालापत्थर क्षेत्रमा पुगेको थियो ।