३ चैत, काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि उप्रान्त आयोगले निम्न बमोजिमका निर्णयहरु गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ ।
आगामी स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा संचालन गर्ने सन्दर्भमा प्रचलित कानून बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता भएका दलको उम्मेदवारलाई सोही दलको निर्वाचन चिन्ह दिन उपयुक्त निर्णय गर्ने सम्बन्धमा निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ (त्रिहत्तर) राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम जिल्ला स्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण पेश गर्न पत्राचार गरेको छ ।
आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता, नेपाल राजपत्रमा प्रकाशन भएको छ । आगामी स्थानीय तह निर्वाचनका लागि आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुनेछ ।
आगामी स्थानीय तह निर्वाचनको काममा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग मा सम्झौता गरिएको छ ।
स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्रीहरु छपाइका लागि गोरखापत्र दैनिकमा ६ वटा प्याकेजमा E-biddingको माध्यमबाट खरिद गर्न बोलपत्रको सूचना प्रकाशन भएको छ ।





