स्वास्थ्य

साढे चार हजारभन्दा बढीमा परीक्षण हुँदा २७ जनामा सङ्क्रमण


३ चैत, काठमाडौँ । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ३७६ रहेको छ । पछिल्लो समय २२० कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६१ हजार ७८१ पुगेको छ । निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।

मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन, कास्की र बाँके रहेका छन् । शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन् । नेपालमा सङ्क्रमणदर १७.८ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा चार हजार ३०२, संस्थागत आइसोलेसनमा ७४, आइसीयुमा २८ र भेन्टिलेटरमा छ जनाको उपचार हुँदैछ । पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ९८४ जनाले खोप लगाएका छन् ।