स्वास्थ्य

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि


५ चैत, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ५४३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार १२७ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार ७० रहेको छ । पछिल्लो समय थप ४०९ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६२ हजार ५८२ पुगेको छ । निको हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ । त्यसैगरी पछिल्लो समय आठ हजार ७२९ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ५९२ रहेको छ । अहिले होमआइसोलेशनमा तीन हजार ५३५ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ६० आइसीयूमा २७ र भेन्टिलेटरमा छ जनाले उपचार गराइरहेका छन् ।