स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ३७ सङ्क्रमित थपिए


६ चैत, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा चार हजार ६१ जनाको नमूना परीक्षण गरिएको थियो ।

दुई हजार ७९८ जनाको पिसीआर र एक हजार २६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३८२ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६२ हजार ५८२ पुगेको छ । नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ७८ हजार १५५ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख ४० हजार ७९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । 

पिसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५५ लाख पाँच हजार ८४६ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ११ लाख ११ हजार ३२५ पुगेको छ । कूलमा सङ्क्रमण दर १७ दशमलव आठ प्रतिशत छ ।

आज २२ हजार ६८७ ले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार २४१ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव दुई प्रतिशत छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३९३ दशमलव चार रहेको छ । 

हाल भेन्टिलेटरमा रहने सङ्क्रमितको सङ्ख्या जम्मा पाँच र आइसियूमा २७ रहेको छ । होम आइसोलेशनमा तीन हजार १८३, संस्थागत आइसोलेशनमा ५८ रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् भने २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा ललितपुर, चितवान, काठमाडौँ र बाँके छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, रुकुमपूर्व, जुम्ला र बाजुरा रहेका छन् । 

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३९३, ललितपुर ३२२ र भक्तपुरमा ३३ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । आज काठमाडौँमा १० र भक्तपुरमा दुई गरी काठमाडौँ उपत्यकामा १२ नयाँ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।