गण्डकी प्रदेश

चार स्रष्टा सम्मानित


२७ चैत, दमौली । शुक्ला साहित्य सङ्गम तनहुँले शुक्लागण्डकीस्थित दुलेगौडामा शनिबार आयोजित कार्यक्रममा विभिन्न विधाका चार स्रष्टालाई सम्मान गरेको छ ।

शुक्ला विशिष्ट सम्मानबाट कास्कीका साहित्यकार एवं प्राज्ञ रमेश श्रेष्ठ पुरस्कृत भएका छन । उनलाई नगद रु १५ हजारसँगै सम्मानपत्रले पुरस्कृत  गरेको छ । शुक्ला पुरस्कारबाट झापाका साहित्यकार जनार्दन दाहाललाई पुरस्कृत  गरेको छ । उक्त सम्मानको राशि रु १० हजार रहेको छ । 

शुक्ला प्रतिभा पुरस्कार तनहुँका साहित्यकार अनिल श्रेष्ठ र र शुक्ला पूर्ण बाल प्रतिभा पुरस्कार तनहुँका अनुप लामिछानेलाई प्रदान गरेको छ । शुक्ला प्रतिभा पुरस्कारको राशि रु पाँच हजार र शुक्ला पूर्ण बाल प्रतिभा पुरस्कारको राशि रु दुई हजार ५०० छ ।

स्रष्टाहरुलाई वरिष्ठ साहित्यकार एवं प्राज्ञ सरुभक्त श्रेष्ठ, शुक्ला साहित्य सङ्गमका कार्यवाहक अध्यक्ष रामशरण गैरे र सङ्गमका संरक्षक शेषमणि आचार्यले सम्मान गरेका हुन । संस्थाले नेपाली साहित्यको क्षेत्रमा योगदान पु¥याएका स्रष्टालाई सम्मान गर्दै आइरहेको पूर्वअध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । सङ्गमले हरेक दुई वर्षका अवधिमा यो पुरस्कार प्रदान गरिरहेको छ ।

रु तीन लाखको अक्षयकोष स्थापना गरी पुरस्कृत गर्न थालिएको बताइएको छ । संस्थाले यसअगाडि शुक्ला विशिष्ट पुरस्कार कवि तथा साहित्यकार डा रामप्रसाद ज्ञवाली, शुक्ला पुरस्कार साहित्यकार धीरेन्द्र प्रेमर्षी, शुक्ला प्रतिभा पुरस्कार कवि जगन्नाथ पौडेल र सुष्मा सिग्देल तथा शुक्ला बाल प्रतिभा पुरस्कार अमृत ढकाललाई प्रदान गरेको थियो । सोही अवसरमा सम्मानित स्रष्टा जनार्दन दाहालको गजल सङ्गह ‘यी मान्छे यी नजर’ विमोचन गरिएको छ । दाहालको चौथो कृतिमा ८५ गजल समावेश छ ।