समाचार

कंगोमा वीरगति प्राप्त नेपाली सैनिकलाई सेनाद्वारा श्रद्धाञ्‍जली अर्पण तथा अन्तिम सम्मान

३० चैत, काठमाडौँ । कंगोमा संचालन भएको अपरेशन ‘बाली’ को दौरान, विद्रोहीको फायरबाट घाईते भई बुनियाँस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएका सुर्खेत गुर्माकोट नगरपालिका वडा नं.१४, जहरे निवासी शान्ति सेना पहिलो डफ्फा, कंगोमा कार्यरत नेपाली शान्ति सैनिक प्युठ अनिल गुरुङ्गको पार्थिव शरीरलाई २९ गते नेपाल ल्याई उनको बलिदानीपूर्ण योगदान प्रति उच्च सम्मान प्रकट गर्दै नेपाली सेनाले आज श्रद्धाञ्‍जली तथा अन्तिम सम्मान अर्पण गरेको छ ।

छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित उक्त श्रद्धाञ्‍जली तथा अन्तिम सम्मान अपर्ण कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले सम्मान स्वरुप निज शान्ति सैनिकको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाई अन्तिम श्रद्धाञ्‍जली स्वरुप फूलमाला अर्पण गरेका थिए भने रक्षा सचिव किरणराज शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्‍जली अर्पण गरेका थिए । सो अवसरमा संयुक्त राष्ट्रसंघको तर्फबाट United Nations Resident Coordinator for Nepal, Mr. Richard Howard ले निज गुरुङ्गको पार्थिव शरीरमा ग्ल् को झण्डा ओढाई सम्मान प्रकट गरेका थिए।

उक्त कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, बलाध्यक्ष लगायत रथीवृन्द, अधिकृत, पदिक तथा उपस्थित परिवारजनले पार्थिव शरीरमा फूलमाला अर्पण गरेपश्चात नेपाली सेनाको टुकडीले अन्तिम सम्मान स्वरुप सलामी अर्पण गरेको थियो । सोही कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले MONUSCO Mission का फोर्स कमाण्डरले पठाएका समवेदना पत्र र अन्तिम दाहसंस्कारको लागि नेपाली सेनाबाट प्रदान हुने रकम मृतकका परिवारजनलाई हस्तान्तरण गरेका थिए ।
उक्त श्रद्धाञ्‍जली तथा अन्तिम सम्मान कार्यक्रम पश्चात स्वर्गीय प्युठ अनिल गुरुङ्गको पार्थिव शरीरलाई आजै नेपाली सेनाको हेलिकप्टरद्वारा गृहजिल्ला सुर्खेत लगी परिवारजनलाई हस्तान्तरण गरि नेपाली सेनाको स्थान विशेषमा तैनाथ युनिटबाट अन्तिम सलामी प्रदान गरिने छ ।