गण्डकी प्रदेश

दुरा जातिको संस्कृति संरक्षण गर्नुपर्छ: सामान्य प्रशासनमन्त्री श्रेष्ठ


२ वैशाख, दमौली । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले दुरा जातिको संस्कृति लोप हुँदै गएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटमा आज आयोजित दुरा सेवा समाजको २९ औं वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले दुरा जातिको संस्कार र संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले दुरा जातिहरुले आफ्नो भाषा संस्कृतिको संरक्षण गर्नुपर्ने बताउँदै त्यसका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संविधानले दुरा जातिका लागि अधिकार दिएपनि त्यसको कार्यान्वयन हुन नसकेको मन्त्री श्रेष्ठको भनाइ थियो । “अल्पसङ्ख्यकभित्र पर्ने दुरा जाति आफ्नो हकअधिकार प्राप्तिका लागि सजग र चनाखो बन्नुपर्छ”, मन्त्री श्रेष्ठले भने।

दुरा सेवा समाजका अध्यक्ष देवबहादुर दुराको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका संरक्षक वीरबहादुर दुरा, महासचिव बुद्धिबहादुर दुरा, नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष बसुन्धरा घर्ती लगायतले दुराका हकअधिकारका बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा पाँच जिल्लाका दुरा सेवा समाजका सदस्यहरु सहभागी छन् ।