स्वास्थ्य

आज नौ जनामा मात्र सङ्क्रमण


३ वैशाख, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज नौ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ४३ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ । यसअघि सबभन्दा कम चार जनामा सङ्क्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ४०० जना रहेका छन् । पछिल्लो समय ४४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ३०३ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।

शून्य सङ्क्रमित भएको १७ जिल्ला पुगेका छन् । मन्त्रालयका अनुसार त्यसमा ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वनवलपरासी, पूर्वरुकुम, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन् ।
हाल होमआइसोलेशनमा ३८२, संस्थागत आइसोलेशनमा १८, आइसीयूमा नौ र भेन्टिलेटरमा एक जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ३० हजार ८८९ जनाले खोप लगाएका छन् ।