गण्डकी प्रदेश

अधिकार प्राप्तिका लागि एकताबद्ध हुनुपर्छ : उपसभामुख शर्मा


३ वैशाख, गण्डकी । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अधिकार प्राप्तिका लागि सङ्गठित भएर लाग्नुपर्ने बताएका छन् । पूर्वाञ्चल सेवा समाजको १७औँ साधारणसभा एवं दशौँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले एकताबाट मात्र सफलता प्राप्त गर्न सकिने बताए । मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा विभिन्न सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहँदै आएको बताउँदै उपसभामुख शर्माले यस्ता संस्थाको विकासका लागि तीनै तहका सरकारको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

पूर्वाञ्चलमा जन्म भई विभिन्न पेशा र व्यवसाय मार्फत पोखरालाई कर्मभूमि बनाउँदै आएकाहरूको संस्थामा राजनीति गर्न नहुनेमा उनको जोड थियो । कार्यक्रममा नव वर्ष २०७९ को शुभकामना आदान–प्रदानसहित भित्तेपात्रोको समेत लोकार्पण गरिएको थियो ।

संस्थाका अध्यक्ष गोपालबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार एवं पे्रस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, क्यूपेक नेपालका अध्यक्ष तीर्थराज मगर, पूर्वअध्यक्ष डिबी राई, प्रथम उपाध्यक्ष बालकुमार लुइँटेललगायतले संस्थाको महत्व र यसले खेल्दै आएको भूमिकामाथि चर्चा गरेका थिए ।