समाचार

छैठौं भक्तपुर औधोगिक महोत्सब भव्यताको साथ अध्यक्ष नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न

५ वैशाख, भक्तपुर । बिगत एघार दिन देखि भईरहेको छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ को समापन भव्यताको साथ सम्पन्न भएको छ। नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सम्माननिय माधब कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा हजारौं भक्तपुरबासिको उपस्थिति रहेको थियो। “नयाँ बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नयाँ बर्षको पूर्व सन्ध्यामा सुरु भएको भक्तपुरमा छैंठौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ चैत २४ गते देखि बैशाख ४ गते सम्म भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा संचालन भएको थियो।

उक्त समापन कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सम्माननिय माधब कुमार नेपालले यस्ता मेला महोत्सबले देशमा आर्थिक बृदिदर बढ्ने, मुलुक भित्रनै रोजगार सिर्जना हुने र मुलुक सम्बृदको बाटो तर्फ अगाडि बढ्ने भन्दै आयोजकहरुलाई हौसला प्रदान गरेका थिए। त्यस्तै आसन्न स्थानिय निर्बाचनमा आफ्नो बुद्धि बिबेक प्रयोग गरेर मत प्रदान गर्न भक्तपुरबासिहरुलाई आव्हान गरेका थिए।

महोत्सबमा करिब ४ लाख आगन्तुकहरू भ्रमण गरेको र ५ करोड बराबरको महोत्सब अबधिभर कारोबार भएको आयोजक औधोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए। लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामा भक्तपुरमा छैठौ पटक “छैठौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९” आयोजना गरेको थियो।

समापन समारोहमा बोल्दै महोत्सबका संयोजक दिपक थापाले प्रमुख अतिथि, अतिथिहरु आयोजक संस्थाहरु, व्यापारीहरु, सहयोगीहरु लगायत सम्पूर्ण मेला अबलोकनकर्ताहरुलाई धन्यबाद दिदैं आगामी बर्षहरुमा समेत यस्तै हौसला, साथ सहयोगको अपेक्षा राखेका छन् भने महोत्सबले भक्तपुर जिल्लालाइ चिनाउनुको साथै आर्थिक कारोबारलाई चलायमान बनाउदै कोभिडबाट थालिएको अर्थतन्त्रलाइ उकास्न मद्दत पुर्याएको बताएका छन्।

छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ मा भएको डान्स आइडलको बिजेता सन्जु तामाङ बन्न सफल भएकी थिइन् भने फर्स्ट रनरअप मोनालिशा धामी, सेकेण्ड रनरअप बिपिना तामाङ, बेष्ट प्रफरमेन्स करुणा खड्का र पंक्चुअलिटीको टाईटल रुना सुनामले जित्न सफल भएका थिए। त्यसैगरी बिजेताहरुलाइ ट्रफि लगायत नगद पुरस्कार प्रदान गरिएको थियो। उक्त डान्स आइडलको निर्णायकमा संचारकर्मी, गायक डान्स कोरियोग्राफर तथा निर्देशक सुमन कुमार श्रेष्ठ र डान्स कोरियोग्राफर इन्द्र बिसुन्के रहेका थिए।

महोत्सबको केहि रकम महोत्सब आयोजक संस्था मार्फत मृगौला पिडितलाइ आर्थिक सहयोग गरिएको कुरा औधोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी गराएका छन्। उक्त महोत्सबमा दर्जनौ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति समेत रहेको थियो।